१४ जीवन बीमा कम्पनीले कमाए ६ अर्ब मुनाफा, अग्रस्थानमा नेपाल र आइएमई, रिलायबल–एशियनको उच्च ग्रोथ

३० श्रावण २०८२, शुक्रबार १२:२८

काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १६.०१ प्रतिशतले घटेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ६ अर्ब दुई करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले सात अर्ब १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । साथै, अघिल्लो वर्षको तुलनामा गत आवमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफको मुनाफा सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये ६ वटा कम्पनीको मुनाफा मात्र बृद्धि भएको छ । यी बाहेकका अन्य कम्पनीको मुनाफा घट्न पुगेको छ । कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई सक्रिय बनाउँदै व्यवस्थानमा सुधार दिदाँ वित्तीय प्रगती हासिल गरेका हुन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा १७.३७ प्रतिशतले बृद्धि भएर ६० करोड ३२ लाख रुपैयाँ रहेको छ । साथै, आइएमई लाइफले मुनाफा आर्जनका आधारमा दोस्रो स्थानमा रहेको छ । कम्पनीले गत वर्ष ५८ करोड ३३ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

स्रोतः कम्पनीले प्रकाशित वित्तीय विवरण

त्यस्तै, गत आवमा सर्वाधिक मुनाफा बृद्धि गर्न सफल कम्पनी बनेको छ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स । कम्पनीको मुनाफा कुल ४७ प्रतिशतले बढेर ५७ करोड एक लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले ५४ करोड ६९ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ५४ करोड २४ लाख रुपैयाँ, मेट लाइफ नेपालले ४९ करोड ६१ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

साथै, नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा ४१ करोड २८ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ४० करोड ९३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ३७ करोड ७४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३७ करोड ७४ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५ करोड दुई लाख रुपैयाँ र एलआईसी नेपालको ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा रहेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले गत वर्षमा दुई करोड आठ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुको मुनाफा एक्च्युरी भ्यालुएसन पछि मात्र वास्तविक मुनाफा देखिन्छ । एक्च्युरी भ्यालुएसन पछि कम्पनीहरुको मुनाफा हेरफर हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*