जीवन बीमा कम्पनीहरुको लगानी साढे सात खर्बबढी, नेपाल लाइफ एक्लैको दुई खर्ब, अन्य कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे सात खर्ब भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल सात खर्ब ५७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले मुद्धती निक्षेपबाट बाहिर निस्कदै विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाएर अगाडि लगिरहेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्न बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गरेसँगै कम्पनीहरुल लगानीको दायरा बढाउदै लगिरहेको छ ।
त्यसमध्ये नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त क वर्गका बैंकहरुको मुद्दती निक्षेपमा ३० प्रतिशत, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रमा २५ प्रतिशत, ख वर्गमा बैंक तथा वित्तीय संस्थामा १० प्रतिशत, ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ प्रतिशत, घर जग्गामा १० प्रतिशत लगानी गरेका छन् ।
त्यस्तै, जीवन बीमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा १० प्रतिशत, नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ३० प्रतिशत, नागरिक लगानी कोषमा ५ प्रतिशत लगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । कतिपय कम्पनीहरुले लगानी विविधिकरणको बाटो अपनाएर विभिन्न उच्च प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रमा समेत लगानी गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लगानी विस्तार गरेको छ । कम्पनीले आफ्नो स्वामित्वमा अर्बौ रुपैयाँको चुक्ता पुँजी सञ्चालन गरी लगानी विविधिकरणलाई अपनायर उत्कृष्ट क्षेत्रमा लगानी गरिरहेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक खर्ब ९२ अर्ब ७० करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, लगानी विस्तारमा एलआइसी नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले वर्षदिनमा एक खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीले बैंकको मुद्दती निक्षेप लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । हिमालयन लाइफ इन्स्योरेन्सले पनि लगानी विस्तारलाई तीब्रता दिएको छ । कम्पनीले गत आर्थिक वर्षमा विभिन्न क्षेत्रमा कुल ७९ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।
समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्स पनि लगानी विस्तारमा आक्रामक देखिएको छ । कम्पनीले गत आर्थिक वर्षम कुल ७१ अर्ब ४८ करोड ५७ लाख रुपैयाँको लगानी गरेका छन् । कम्पनीले केही दिनअघि मात्रै पाकिस्तानी बैंक हबिबको स्वामित्वमा रहेको हिमालयन बैंकको शेयर पनि खरिद गरेको छ ।
साथै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ४६ अर्ब ६१ कराड ४९ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४१ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सको ३१ अर्ब ५२ करोड नौ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २१ ऋर्ब अर्ब पाँच करोड ८२ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको २४ अर्ब १४ करोड ८५ लाख रुपैयाँ लगानी रहेको छ ।
समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १९ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १७ अर्ब ५२ करोड तीन लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको १५ अर्ब १८ करोड ८१ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १७ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ लगानी रहेको छ । जीवन बीमा कम्पनीहरुले आफुलाई उचित प्रतिफल पाइने र मुनाफा बढी भएका क्षेत्रहरुमा लगानी विस्तार गर्दै अघि बढीरहेका छन् ।













