गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो ।
विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त स्टोरलाई दफा ३८ को ङ बमोजिम कसुर र सोहि ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरेको हो ।
उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार ‘वस्तुको गुणस्तर, परिमाण, मूल्य वा बनावट ढाँटी वा लुकाई विक्री’ गरेमा अपराध मानिन्छ ।
त्यस्तै, विभागले काठमाडौं महानगरपालिका–२४ मा रहेको विनय स्टोर्सलाई दश हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यसैगरी दक्षिणकाली आयल स्टोर्स प्रालि, जेएच स्टोर्स, खुशी ट्रेड इन्टरनेशनल, मुकेश इम्पोरियम, इस कलेक्सन सेन्टर, रस कटर ट्रेडिङ्ग, द ब्याग क्लिस, पाकिजा स्टोर, फेवा इन्टरप्राइजेज प्रालि र श्री लक्ष्मी माँ स्टोर्सलाई व्यवसायसँग सम्बन्धित कागजात तीन दिनभित्र विभागमा पेश गर्न वा आवश्यक स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ।
केही फर्मलाई सामान्य निर्देशनमा मात्रै सीमित गरिएको छ।













