प्रतिकित्ता १४० रुपैयाँमै एनआईसी एशिया बैंकको शेयर बेचेर बाहिरिंदै नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।
बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको हो।
संस्थापक शेयर बेच्दा सोही कम्पनीका अन्य संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल सो शेयरमा एनआईसी एशिया बैंककै शेयरधनीहरूले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्।
यसका लागि ३५ दिनको समयावधि दिइएको छ। उक्त अवधिभित्र शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित बैंकको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि बैंकले जानकारी दिएको छ।














