सात लघुबीमा कम्पनीहरुको लगानी पाँच अर्ब नजिक, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रोको उच्च

९ भाद्र २०८२, सोमबार १७:३३

काठमाडौं । नेपालमा सञ्चालित लघुबीमा कम्पनीहरु करिव पाँच अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्ममा सात वटा लघु बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल चार अर्ब ८० करोड ९६ लाख रुपैयाँ लगानी गरेका हुन् ।

कुल लगानीमध्ये तीन लघु जीवन बीमा कम्पनीहरुको दुई अर्ब ३० करोड ६ लाख रुपैयाँ रहेको छ भने चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुको दुई अर्ब ५० करोड ९० लाख रुपैयाँ लगानी रहेको छ । स्थापना कालको छोटो अवधिमा नै लघु बीमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बन्दै गएका छन् । लघु बीमा कम्पनीहरुको लगानी मुद्दति निक्षेपमा मात्र सीमित भएको छ ।

लघु जीवन बीमाः

समीक्षा अवधिमा नेपालमा सञ्चालित तीन लघु जीवन बीमा कम्पनीहरुले लगानी बढाउन उच्च प्रतिफल प्राप्त गर्न सकिने सुरक्षित क्षेत्रहरुमा बढी लगानी गरेको देखिन्छ । कम्पनीहरुले नेपाल सरकारको ऋणपत्रमा २५ प्रतिशत लगानी गरेको छ । साथै, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा सबैभन्दा बढी लगानी गरेका छन् । कम्पनीहरुले यी मुद्दति निक्षेपमा मात्रै एक अर्ब ९६ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा २८ करोड ३९ लाख रुपैयाँ, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बण्ड, डिभेन्चरमा दुई करोड ६७ लाख रुपैयाँ र नागरिक लगानी कोष र म्युचुअल फण्डमा एक करोड रुपैयाँ लगानी गरेका छन् ।

समीक्षा अवधिमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वित्तीय लगानी सबैभन्दा बढी रहेको छ । कम्पनीले यस अवधिमा कुल ८९ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । साथै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ८३ करोड ८७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ५६ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।

निर्जीवन लघु बीमा कम्पनीः

समीक्षा अवधिमा चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको ऋणपत्रमा २५ प्रतिशत लगानी गरेको छ । साथै, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा सबैभन्दा बढी लगानी गरेका छन् । कम्पनीहरुले यी मुद्दति निक्षेपमा मात्रै दुई अर्ब १७ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ३१ करोड ६३ लाख रुपैयाँ, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बण्ड, डिभेन्चरमा ७३ लाख रुपैयाँ र नागरिक लगानी कोष र म्युचुअल फण्डमा ९० लाख रुपैयाँ लगानी गरेका छन् ।

समीक्षा अवधिमा आईपीओ निष्काशन समेत गरिसकेको नेपाल माइक्रो इन्स्योरेन्सको लगानी सबैभन्दा बढी रहेको छ । कम्पनीले यस अवधिमा ८१ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ ।

साथै, स्टार माइक्रो इन्स्योरेन्सले ५८ करोड ७० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सको ५४ करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*