बीमालेख धितो राखेर बीमितले लिए एक खर्ब कर्जा, नेपाल र एलआइसीको सबैभन्दा बढी

बीमालेख धितो कर्जा कसरी लिन सकिन्छ ?
१० भाद्र २०८२, मंगलवार १३:१४

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले करिव एक खर्ब रुपैयाँ बराबरको कर्जा बीमितहरुलाई दिएका छन् । सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा आफ्ना बीमितहरुलाई कुल ९३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ बीमालेख धितो कर्जा दिएका हुन् ।

कम्पनीहरुले प्रकाशित गरेका विवरण अनुसार जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.४६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले अघिल्ल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कुल ८९ अर्ब ९८ करोड २९ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुको बीमालेख धितोमा राखेर कर्जा सुविधा उपलब्ध गराउने गर्दछन् । नियमअनुसार बीमितले बीमा गरेको तीन वर्षपछि आफ्नो बीमांक रकमको समपर्ण मूल्यको ९० प्रतिशत रकम कर्जा स्वरुप प्राप्त गर्न सक्दछन् । जीवन बीमाले बीमितहरुलाई जोखिम रक्षावरणका साथै कर्जा सुविधा पनि उपलब्ध गराउने भएका निकै लाभदायी भएको बीमितहरुले प्रतिक्रिया दिने गरेका छन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स र एलआइसी नेपालले सबैभन्दा बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । साथै, यस अवधिमा आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले यस्तो कर्जा वितरण बढाएका छन् ।

नेपाली जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बीमालेख धितो कर्जा प्रवाहमा पनि एक नम्बरमा परेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई गत आवमा ३४ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । कम्पनीको कर्जा वितरण गर्ने तरिका पनि निकै सहज र झन्झटरहित रहेको छ ।

साथै, एलआइसी नेपालले २१ अर्ब ३० करोड ४८ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ६२ करोड २४ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले सात अर्ब ९२ करोड ४४ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले पाँच अर्ब १३ करोड ५४ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।

स्रोतः सम्बन्धित जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण

समीक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले चार अर्ब ६७ करोड ८९ लाख रुपैयाँ, मेट लाइफले एक अर्ब ८१ करोड ९७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब ५६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले एक अर्ब २१ करोड रुपैयाँ, सिटिजन लाइफले एक अर्ब रुपैयाँ, आइएमई लाइफले ९६ करोड रुपैयाँ, सन नेपाल लाइफले ६८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको वित्तीय विवरण भद्रगोल छ । कम्पनीले लामो समयदेखि अडिट नगरेको भएर हालसम्म कति रुपैयाँ बीमालेख धितो कर्जा कति रहेको छ भन्ने समते थाहा नभएपटि उक्त रकम उल्लेख नै गरिएको छैन् ।

बीमालेख धितोमा राखि कसरी लिन सकिन्छ कर्जा ?

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले बीमालेख धितोवापत कर्जा प्रदान गर्ने गर्दछन् । यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार भने फरक–फरक हुने गर्दछ । साधारणतया बीमा कम्पनीहरुले कर्जा वितरण गर्दा बीमीतहरुले बीमा कम्पनीमा भुक्तानी गरेको बीमा शुल्कको आधारमा समर्पण मूल्य (सरेन्डर भ्यालु) निकालिन्छ र सोही मूल्याङ्कनको आधारमा ऋण दिइन्छ ।

बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा तीन बर्षसम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ । तीन किस्तासम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीबाट बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखीकनै ऋण प्राप्त गर्न सक्दछन् ।

बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउदैनन् । बीमा समितिले तोकेको प्रावधान अनुसार बीमितलाई उसले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सकिन्छ ।

बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । बीमा कम्पनीले ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईन्छ ।

बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आ–आफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन् । बीमालेख धितोमा एकै दिनमा ऋण पाइन्छ भने ब्याज भने प्रत्येक तीन तीन महिनामा भुक्तानी गर्नुपर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*