लगानीकर्ताको विरोधपछि नेप्सेले भारित औसत मूल्यमा आधारित सूचकाङ्क गणनामा दियो स्पष्टिकरण

१३ भाद्र २०८२, शुक्रबार १५:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भारित औसत मूल्यको आधारमा सूचकाङ्क गणना गर्ने विषयमा चासो र आलोचना बढेपछि विज्ञप्ति जारी गरी स्पष्टता दिएको छ।

नेप्सेका अनुसार नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि अपरान्ह ३ बजेसम्म हरेक कारोबारको मूल्यलाई सूचीकृत सेयर संख्याबाट गुणा गरेर सूचकाङ्क गणना गरिन्छ। तर, अपरान्ह ३ बजेसम्मको कारोबार सकिएपछि भने स्वचालित प्रणालीमार्फत कारोबार मूल्य र कारोबार भएका सेयर संख्याका आधारमा भारित औसत मूल्य निकालेर सो मूल्यलाई आधार मानी सूचकाङ्क तय गर्ने प्रावधान लागू हुन्छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा दिउँसो २:४५ देखि ३:०० बजेसम्मको अवधिमा प्रत्येक कम्पनीको कारोबार मूल्य र कारोबार भएका सेयर संख्याका आधारमा अन्तिम मूल्यनिर्धारण गर्छ। त्यसपछि दोस्रो चरणमा सोही अन्तिम मूल्यलाई आधार मानी बजार परिसूचक गणना गरिन्छ।

‘नियमित सत्रको कारोबार अवधिमा सूचकाङ्क गणनामा कम्पनीको कारोबार सेयर संख्याले कुनै प्रभाव पार्दैन भने अपरान्ह ३ बजेपछि मात्र कारोबार संख्याको प्रभाव सूचकाङ्कमा देखिने गर्दछ’ नेप्सेले स्पष्ट पारेको छ।

नेप्सेले जारी गरेको विज्ञप्तिमा यो अभ्यास अन्तर्राष्ट्रिय स्तरमै मान्य र उत्तम अभ्यास भएको बताउँदै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत “कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१” अनुरूप सूचकाङ्क गणना प्रणाली गत वर्ष चैत ७ गतेदेखि कार्यान्वयनमा ल्याइएको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*