पुँजी बजारमा निर्जीवन बीमाहरुको लगानी साढे चार अर्ब, सरकारी कम्पनीको सर्वाधिक, बृद्धिदरमा सानिमा जिआइसी

१६ भाद्र २०८२, सोमबार १२:११

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् ।

नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा चार अर्ब ४२ करोड २१ लाख रुपैयाँको शेयर खरिद गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतभन्दा बढी शेयर खरिद गरी लगानीको दायरा बृद्धि गर्न सफल भएका छन् । कम्पनीहरुले अघिल्लो आवको असार मसान्तसम्मको अवधिमा तीन अर्ब ८६ करोड पाँच लाख रुपैयाँ बराबरको लगानी पुँजी बजारमा गरेका थिए ।

समीक्षा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा सबैभन्दा बढी लगानी गरेका छन् । साथै, अघिल्लो आवको तुलनामा गत आवमा सानिमा जिआईसी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले शत प्रतिशत भन्दा बढीले लगानीको दायरा बृद्धि गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीले दोस्रो बजारमा सूचीकृत विभिन्न कम्पनीहरुको साधारण शेयरमा ७९ करोड ४१ रुपैयाँ लगानी गरेका छन् । कम्पनीले अघिल्लो आवको तुलनामा शेयर बजारको लगानी बृद्धि गर्न सकेको छैन् । बजारको अनुकुलतामा कम्पनीले विभिन्न सेक्टरका उच्च प्रतिफल दिने कम्पनीहरुको शेयर खरिद गर्दै कम्पनीको लगानीको दायरा बृद्धि गरेको छ ।

साथै, लगानी विविधिकरणको सिद्धार्थ अबलम्बन गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७१ करोड नौ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको साधारण शेयर खरिद गरेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा शेयर बजारको लगानी ४१ प्रतिशतले बढाएको छ ।

समीक्षा अवधिमा नेकोे इन्स्योरेन्सले ५४ करोड १७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५० करोड ७६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७६ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ३४ करोड ४४ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको शेयर खरिद गरेका छन् ।

साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८ करोड १२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २१ करोड ८८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले २१ करोड १४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २० करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ करोड ७९ लाख रुपैयाँको शेयर खरिद गरेका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण

बृद्धिदरका आधारमा शेयर बजारमा लगानी सर्वाधिक लगानी बढाउने कम्पनीमा सानिमा जिआईसी इन्स्योरेन्स रहेको छ । कम्पनीले दोस्रो बजारमा २९० प्रतिशतले लगानी बढाएको छ । साथै, नेपाल इन्स्योरेन्सले १९९ प्रतिशत र शिखर इन्स्योरेन्सले ५४ प्रतिशतले लगानी बढाएका छन् ।

द ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स विदेशी कम्पनी हुन् । यी कम्पनीहरुले नेपाली पूजी बजारमा सूचीकृत भएका कुनै पनि कम्पनीहरुमा लगानी नगरेको भएकाले प्राधिकरणले उक्त कम्पनीको सो लगानी उल्लेख गरेको छैन् । साथै एनएलजी इन्स्योरेन्सकोे पनि गत आवको चौथो त्रैमाससम्मको अवधिमा पुँजी बजारमा भएको लगानी विवरणमा उल्लेख गरेको छैन् ।

बीमा कम्पनीहरुले मुद्धती निक्षेपबाट बाहिर निस्कदै विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाएर अगाडि लगिरहेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्न बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गरेसँगै कम्पनीहरुल लगानीको दायरा बढाउदै लगिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*