तारागाउँ रिजेन्सीद्वारा वित्तीय विवरणमा गम्भीर त्रुटि, १७ दिनपछि मात्र सच्याउँदै गर्‍यो चलखेल!

१६ भाद्र २०८२, सोमबार १३:३८

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गम्भीर लापरबाही गरेको खुलेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचीकृत कम्पनीले लगानीकर्तालाई गुमहरामा राखेर चलखेल गरेको पाइएको हो ।

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको विवरण पेस गर्दा करपछि नाफाको रकममा ठुलो त्रुटि गरेको पाइएको छ । कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ उपनियम १ अनुसार त्रैमासिक अवधि समाप्त भएको ३० दिन भित्र प्रतिवेदन धितोपत्र बोर्डमा पेस गरेको थियो । तर, प्रकाशित प्रतिवेदनमा करपछि नाफा ४६ करोड ८५ लाख ७६ हजार ३३४ रुपैयाँ हुनुपर्नेमा त्रुटि गरेर ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ देखाइएको पाइएको हो ।

कम्पनीले त्रुटि भएको १७ दिनपछि मात्रै सर्वसाधारणलाई जानकारी दिएको छ । कम्पनीले पछिल्लो समयमा मात्रै भदौ १६ गते पत्रिकामा सच्याइएको सूचना प्रकाशित गर्दै सार्वजनिक जानकारी गराएको हो । त्रुटिलाई तत्काल सच्याउनु पर्नेमा कम्पनीले लामो समय लगानीकर्तालाई गुमहरामा राखेको खुलेको हो ।

तारागाउँ रिजेन्सीको यस लापरबाहीले लगानीकर्तामा भ्रम उत्पन्न भएको छ भने संस्थाप्रति विश्वासमा गम्भीर धक्का पुगेको छ । कम्पनीको त्रुटिका कारण दोस्रो बजारमा लगानी गर्ने लगानीकर्तालाई ठुलो आर्थिक घाटा सहनु परेको छ । वित्तीय विवरणमा देखाइएको गलत नाफाले लगानीकर्तामा भ्रम सिर्जना गरेको छ र उनीहरूका लगानी जोखिमपूर्ण बनेको छ ।

कम्पनीले तत्काल वित्तीय विवरण नसच्चाउनु गम्भीर चलखेल रहेको तारागाउँमा लगानी रहेका एक लगानीकर्ताले बताए । उनले भने, ‘ल गल्ती कहिले कहीँ हुन्छ त्यो स्वाभाविक हो । तर, गल्ती भएको कुरा समयमा नै जानकारी नदिनु गम्भीर चलखेलको संज्ञा हो । अब नियामक निद्रामा छ । कसको के लाग्छ र ?।’

कम्पनीले लगानीकर्ता कृत्रिम नाफा देखाएर गरेको चलखेलप्रति नियामक निकाय भने मौन छ । नाफामा देखाएको गम्भीर त्रुटिमा बोर्डले कम्पनीलाई कारबाहीको सट्टा मौन समर्थन दिएको पाइएको हो । यसले नियामक निकायको निष्क्रियता र पारदर्शिताको अभावलाई उजागर गरेको छ ।

कम्पनीको त्रुटि केवल सङ्ख्यामा सीमित छैन यसले लगानीकर्ताको भावनात्मक र मनोवैज्ञानिक विश्वासमा पनि चोट पुर्‍याएको छ । दोस्रो बजारमा लगानी गर्नेहरूलाई वित्तीय विवरणमा आधारित निर्णय लिनु पर्ने हुन्छ । यस्तो गलत नाफाले लगानीकर्ताको निर्णयलाई गलत दिशा दिन्छ ।

कम्पनीले पटक–पटक यस्ता लापरबाही गर्दै लगानीकर्तालाई भ्रममा पार्दै आइरहेको छ । यसअघि पनि कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*