विक्री संकट टार्न जिकर एक्समा १५ लाख छुट, अघिल्ला ग्राहक ठगिएको अनुभूति

१६ भाद्र २०८२, सोमबार १८:४३

काठमाडौं । पछिल्लो समय नेपालमा चर्चामा आएको गाडीमध्ये एक हो – चीनमा उत्पादन हुने इलेक्ट्रिक गाडी ‘जिकर एक्स’। नेपालका लागि यसको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो। तर, बजारमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले हालै दशैं–तिहार र छठ लक्षित गरी एकैपटक १५ लाख रुपैयाँसम्म छुटको घोषणा गरेको छ।

यो छुट आफैंमा बजारका लागि ठूलो समाचार बनेको छ। किनभने कुनै पनि कम्पनी सामान्य अवस्थामा यति ठूलो रकम छुट दिने कुरा गर्दैन। ८४ लाख ९९ हजार रुपैयाँमा मूल्य तोकिएको गाडीलाई अचानक ६९ लाख ९९ हजार रुपैयाँमा झार्नु भनेको कम्पनी आफैंको मूल्य निर्धारणमा नै गम्भीर प्रश्न उठाउने विषय हो। अझ अघिल्लो महिना वा केही समयअघि मात्र गाडी खरिद गरेका ग्राहकका लागि यो समाचार ‘धक्का’ सरह बनेको छ।

अहिले किनेका ग्राहकहरूलाई आकर्षित गर्न गाडीको मूल्य अस्वाभाविक रूपमा बढाइने र चाडपर्वको नाममा पुनः ठूलो छुट दिने रणनीति अपनाइन्छ। यसले कम्पनीलाई घाटा हुँदैन तर ग्राहकहरूलाई भने ठगिएको महसुस हुन्छ। यही कारण, जिकर एक्सको १५ लाख छुटलाई धेरैले बजारको ‘संकट’ र कम्पनीको ‘लुटधन्दा’को प्रत्यक्ष प्रमाणका रूपमा लिएका छन्।

नेपालमा सुरुमा जिकर एक्सलाई प्रिमियम सेग्मेन्टको आकर्षक इलेक्ट्रिक गाडीका रूपमा प्रस्तुत गरिएको थियो। कम्पनीले यसको विशेषताहरू २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, ७ वटा एयरब्याग, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र पाँचतारे सेफ्टी रेटिङलाई प्रमुख विक्री बिन्दु बनाएको थियो। तर, यी सबै सुविधाका बाबजुद पनि नेपाली ग्राहकहरूले गाडीप्रति चासो देखाएनन्।

यसको मुख्य कारण हो मूल्य। ८५ लाखको हाराहारीमा मूल्य तोकिएको यो गाडी धेरै महँगो मानियो। त्यति पैसामा ग्राहकहरूले बजारमा टेस्ला, बिएमडब्लु, ह्युन्डाई आइओनिक, किया ईभी जस्ता ब्रान्डेड र अन्तर्राष्ट्रिय रूपमा स्थापित विकल्प पाउन सक्थे। फलस्वरूप, जिकर एक्सले नेपाली बजारमा खप भन्दा बढी मूल्य ट्याग गरेकै कारण बिक्रीमा ठप्पजस्तै स्थिति बन्यो।

कम्पनीले अब भने दशैं, तिहार र छठलाई बहाना बनाएर अचानक १५ लाख छुट दिएको छ। तर, बजारमा यो कदमलाई ‘उपहार’ भन्दा बढी ‘विक्री संकट’को बाध्य रणनीति भनेर हेरिएको छ।

अहिलेको छुट घोषणा हुनु अघिल्लो महिनामा नै यो गाडी खरिद गरेका ग्राहकहरूले तत्कालै १५ लाख बढी रकम तिरेर गाडी ल्याएका थिए। छुटको घोषणा भएपछि उनीहरू ठगिएको महसुस गरिरहेका छन्। सामान्य रूपमा कुनै पनि कम्पनीले साना छुट वा प्रलोभनका योजना ल्याउँदा धेरै ठूलो विवाद हुँदैन। तर, १५ लाख जस्तो ठुलो रकममा छुट दिँदा अघिल्ला खरिदकर्ताले नैतिक रूपमा अन्याय भएको भोगेका छन्।

यसले भविष्यमा पनि कम्पनीमाथि अविश्वास बढाउने सम्भावना छ। किनभने कुनै ग्राहकलाई थाहा छैन अर्को महिना वा अर्को चाडमा अझ ठूलो छुट आउने हो कि भन्ने। फलस्वरूप, तत्काल गाडी किन्ने भन्दा पनि प्रतीक्षारत रहने प्रवृत्ति बढ्न सक्छ जसले कम्पनीको दीर्घकालीन व्यापारलाई झन् नोक्सान पुर्याउँछ।

पायोनियर मोटोकर्पले छुटसँगै केही थप सुविधाहरू पनि घोषणा गरेको छ। जस्तै—८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर, र ७ किलोवाट वाल चार्जर। यस्ता सुविधाहरू अन्य कम्पनीहरूले पनि दिएका हुन्छन्, त्यसैले ग्राहकलाई तान्ने प्रमुख कारण बन्न सकेनन्।

अर्कोतर्फ, नेपाली बजारमा नयाँ ब्रान्डप्रति ग्राहकहरू सतर्क रहन्छन्। सेवा सुविधा, स्पेयर पार्ट्स, दीर्घकालीन भरोसा र पुनः बिक्री मूल्य  जस्ता विषयमा जिकर एक्स ग्राहकको विश्वसनीयता कमाउन सकेन। यसरी हेर्दा अहिले दिइएको छुट पनि असफल व्यापारलाई अस्थायी रूपमा धकाउने प्रयास मात्रै देखिन्छ।

नेपाली अटो बजारमा प्रतिस्पर्धा कडा छ। नयाँ ब्रान्डलाई टिक्न सजिलो छैन। तर, अस्वाभाविक मूल्य निर्धारण, बिक्रीमा संकट आएपछि मात्रै छुटको बहाना र अघिल्ला ग्राहकलाई बेवास्ता गर्ने प्रवृत्तिले ब्रान्डलाई अझ कमजोर बनाउँछ। जिकर एक्सको १५ लाख छुटलाई पनि धेरैले यस्तै कदमको रूपमा व्याख्या गरिरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*