व्यापारमा आक्रामक काठमाडौँ स्टीलः ९ महिनामा २ अर्ब ३४ करोडको कारोबार, साढे ४ अर्ब कर्जाका लागि रेटिङ

१९ भाद्र २०८२, बिहीबार १२:३३

काठमाडौँ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको लगानी रहेको काठमाडौँ स्टीलले ९ महिनामा नै २ अर्बमाथिको व्यापार गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१।०८२ को ९ महिनामा स्टीलले २ अर्ब ३४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

स्टीलले ९ महिनामा गरेको व्यापार अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा २८.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८१ करोड७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा १ अर्बं ७० करोड ३० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालको प्रतिवेदनमा भनेको छ । कम्पनी व्यापार आक्रामक बन्दै गएको देखिएको छ ।

स्टील नेपाली फलाम तथा स्टील उत्पादन उद्योगका मध्य–स्तरका कम्पनीहरूमध्ये एक हो । कम्पनी सन् २००९ मा स्थापना भई नवलपरासीको तिलकपुरस्थित उत्पादन इकाइमार्फत सन् २०१३ जनवरीदेखि सञ्चालनमा आएको हो । यो कम्पनीलाई देशकै सबैभन्दा ठूलो सुपरमार्केट सञ्चालक भाटभटेनी समूहले प्रवद्र्धन गरेको हो । कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदारी करिब २० प्रतिशत सञ्चालिका सावित्री घलेको छ । त्यस्तै, मिनबहादुर गुरुङले करिब १९ प्रतिशत र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लिले करिब १८ प्रतिशत हिस्सेदारी ओगटेका छन् ।

स्टीलले मुख्यतया टीएमटी बार र बाइन्डिङ तार उत्पादन गर्दै आएको छ । आवश्यक कच्चा पदार्थ, विशेषगरी आइरन बिलेट्स भारतबाट आयात गरिन्छ । कम्पनीसँग हाल वार्षिक करिब १ लाख ५० हजार मेट्रिक टन टीएमटी बार उत्पादन गर्ने क्षमता रहेको छ ।

कम्पनीको सञ्चालन नाफा अनुपात (ओपीबीडीटा/ओआइ) प्रारम्भिक वर्षमा ८.२ प्रतिशत रहेकोमा पछिल्ला वर्षमा उतारचढाव भए पनि संस्थापक समूहको निरन्तर सहयोगका कारण कम्पनीको सञ्चालनलाई अघि बढाइएको छ । लगानी संरचनामा पनि कम्पनीले दिगोपन कायम राखेको देखिन्छ । कम्पनीको ऋण–पूँजी अनुपात ४.१ गुणा रहेकोमा यसले आगामी वर्षहरूमा थप लगानी आकर्षित गर्ने सम्भावना देखाएको छ । त्यस्तै, कर्जा चुक्ता गर्ने क्षमतामा देखिएका चुनौतीहरूलाई प्रवद्र्धकहरूको सहायताले सहज बनाउँदै लगिएको छ ।

प्रवद्र्धकहरूको निरन्तर सहयोग र बजारमा रहेको मागलाई ध्यानमा राख्दा कम्पनीले आगामी दिनमा अझ सशक्त रुपमा उत्पादन विस्तार गर्ने अपेक्षा गरिएको छ । भाटभटेनी समूहको यही सशक्त उपस्थिति र सम्बन्धित व्यवसायिक गतिविधिहरूका कारण स्टीलको कारोबारमा निरन्तर सहयोग पुगेको छ । समूहको व्यवसायिक दायरा अझ विस्तार भइरहेको छ, जसअन्तर्गत आतिथ्य, स्वास्थ्य, रियल स्टेट लगायतका क्षेत्रमा ठूलो परिमाणमा निर्माण कार्यहरू सम्पन्न हुन बाँकी रहेका छन् । यी सबले कम्पनीलाई आगामी दिनमा थप व्यवसायिक लाभ दिने सम्भावना रहेको देखिन्छ ।

सरकारले आयात हुने टीएमटी रडमा हाल करिब ३० प्रतिशत भन्सार शुल्क तोकेको छ, जसले गर्दा स्वदेशी स्टील उत्पादनकर्ताहरूलाई विदेशी प्रतिस्पर्धाबाट संरक्षण मिलिरहेको छ । यसले काठमाडौं स्टील प्रा.लि जस्ता कम्पनीहरूलाई बजारमा प्रतिस्पर्धी लाभ दिलाएको छ ।

काठमाडौं स्टीलले आफ्नो वित्तीय संरचनामा थप सकारात्मकता हासिल गरेको छ । इक्रा नेपालले कम्पनीका दीर्घकालीन कर्जा सीमा २ अर्ब १७ करोड ६४ लाख ८० हजार रुपैयाँका लागि आईसीआरए एनपी एलबी रेटिङ तोकेको छ । यसैगरी, कम्पनीका अल्पकालीन कर्जा सीमा २ अर्ब ४३ करोड ५० लाख रुपैयाँका लागि आईसीआरए एनपी ए–फोर रेटिङ प्रदान गरिएको छ । यसअनुसार, कम्पनीको कुल ४ अर्ब ६१ करोड १४ लाख ८० हजार रुपैयाँ बराबरको कर्जा सीमा विभिन्न श्रेणीमा रेटिङ प्राप्त भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*