सावधिक जीवन बीमा पोलिसीबाट साउनमै साढे सात अर्बको व्यवसाय, कुन पोलिसीबाट कति बीमा शुल्क आर्जन ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा र लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउन महिनामा २० अर्ब दुई करोड तीन लाख रुपैयाँका विभिन्न बीमा पोलिसीहरु बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार साउन महिनामा नेपालमा हाल सञ्चालन रहेका १४ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीहरुले १० प्रकारका बीमा पोलिसीहरु बिक्री गरेर उक्त व्यवसाय गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धिक सावधिक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, आजीवन जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, अन्य जीवन बीमा, लघु जीवन बीमा र म्यादी जीवन बीमा शीर्षकमा बीमालेख बिक्री गर्ने गरेका छन् ।
चालु आर्थिक वर्षको साउन महिनामा बीमा शुल्क संकलनका आधारमा सबैभन्दा धेरै रकम सावधिक जीवन बीमालेख बिक्रीबाट संकलन गरेका छन् । सावधिक जीवन बीमालेख बिक्रीबाट जीवन बीमा कम्पनीहरुले सात अर्ब ६८ करोड १ लाख रुपैयाँ संकलन गरेका छ्न् । जुन कुल बीमा शुल्क संकलनको ३८ दशमलब ३६ प्रतिशत रहेको छ ।
१४ वटा कम्पनीले अहिलेसम्म १२१ वटा सावधिक जीवन बिमाको पोलिसी बिक्री गरेका छन् । जीवन बिमा कम्पनीहरुले जारी गरेका बिमा पोलिसीमा ठूलो हिस्सा सावधिक जीवन बीमाका हुने गरेको छ ।
जीवन बीमा कम्पनीहरुले दोस्रो धेरै बीमा शुल्क संकलन अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख बिक्रीबाट चार अर्ब ५९ करोड १० लाख बीमा शुल्क संकलन गरेका छन् । यो बीमालेख बिक्री कुल बीमा शुल्कको २२ दशमलब ९३ प्रतिशत हुन आउँछ । कम्पनीहरुले यसमा विभिन्न राइडर सेवा सुविधा समेत जोडेर नागरिकहरुको लागि निकै उपयुक्त बनाएको छ ।
बीमा शुल्क संकलनको आधारमा तेस्रो नम्बरमा बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेख रहेको छ । बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट तीन अर्ब २९ करोड ८५ लाखरुपैयाँ संकलन भएको छ जुन कुल बीमा शुल्क संकलनको १६ दशमलब ४८ प्रतिशत हो ।
चौथो बीमा शुल्क संकलन रुपान्तरित सावधिक जीवन बीमा बिक्रीबाट भएको छ । यो बीमा बिक्रीबाट २ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ जुन कुल संकलित बीमा शुल्कको १२ दशमलब ७८ प्रतिशत हो ।
एकल बीमा शुल्क जीवन बीमा, आजिवन जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, अन्य जीवन बीमा, लघु जीवन बीमा र म्यादी जीवन बीमा कुल बीमा शुल्कको १० प्रतिशतभन्दा कम हिस्सा छ । संकलित कुल बीमा शुल्कमा एकल बीमा शुल्क जीवन बीमाबाट २.१२ प्रतिशत, आजीवन जीवन बीमाबाट २.६३ प्रतिशत, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट १.४५ प्रतिशत, अन्य जीवन बीमाबाट १.५४ प्रतिशत, लघु जीवन बीमाबाट १.०५ प्रतिशत र म्यादी जीवन बीमाबाट ०.६६ प्रतिशत बीमा शुल्क संकलन भएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण
सक्रिय बीमालेख संख्याको आधारमा भने सबैभन्दा धेरै बीमालेख लघु जीवन बीमा शीर्षकको बीमालेख बिक्री भएको छ । साउन महिनामा लघु जीवन बीमालेख ५२ लाख ९५ हजार ९८८ वटा जीवन बीमालेख बिक्री भएको छ जुन कुल बीमालेखको ३३.३४ प्रतिशत छ । दोस्रो धेरै जारी भएको बीमालेखमा म्यादी जीवन बीमालेख ३३ लाख ४३ हजार २ सय ३२ वटा रहेको छ जुन कुल जारी बीमालेखको २१ दशमलब ०४ प्रतिशत रहेको छ ।
वैदेशिक रोजगार जाँदा अनिवार्य रहेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख २६ लाख १९ हजार २ सय ३६ वटा बीमालेख बिक्री भएको छ जुन कुल बिक्री भएको बीमालेखको १६ दशमलब ४९ प्रतिशत हो । सबैभन्दा धेरै बीमा शुल्क संकलन भएको सावधिक जीवन बीमालेख भने साउन मसान्तसम्म २१ लाख ४३ हजार ७ सय ७८ वटा मात्रै बिक्री भएको छ जुन कुल बीमालेखको १३ दशमलब ४९ प्रतिशत हो ।
बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा,रुपान्तरित सावधिक जीवन बीमा,अग्रिम भुक्तानी सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, अन्य जीवन बीमा र एकल बीमाशुल्क जीवन बीमा शीर्षकको बीमालेख बिक्रीको हिस्सा १० प्रतिशत भन्दा कम रहेको छ ।
जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती लिएर विभिन्न राइडर, सीआई सेवा सुविधा लगायतका विषय समावेश गरेर नयाँ–नयाँ बीमा पोलिसीहरु बिक्री गरिरहेका छन् । देशको राजनीतिक र प्रविधिमैत्री वातावरणका लागि समेत उपयुक्त हुने तरिकाले अनलाइन माध्यमबाटै बीमा पोलिसी खरिद गर्न सकिने व्यवस्था कायम गरेको छ ।













