सडकमै चिच्यायो जेन-जी पुस्ताः दलको छायाँबिना स्वतन्त्र आवाज, सरकारलाई खुला चुनौती

काठमाडौं । नेपालमा पहिलो पटक नयाँ पुस्ता (जेनजी) ले स्वतःस्फूर्त रूपमा सडक आन्दोलनको नेतृत्व लिएको छ। भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका हुन् ।
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका विद्यार्थी, युवा र पेशेवरहरू माइतीघरमा जम्मा भएका छन् । कतिपय विद्यार्थीहरू विद्यालय र कलेजकै पोशाकमै देखिनु आन्दोलनको स्वतःस्फूर्त र आकस्मिक स्वरूपको प्रमाण थियो।
सामाजिक सञ्जालमै सीमित आलोचना र असन्तुष्टि अब सडकमा देखिन थालेको हो। पछिल्ला दिनमा ट्विटर, फेसबुक, इन्स्टाग्राम र टिकटोकमार्फत भ्रष्टाचार, महँगी, बेरोजगारी र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी निर्णयविरुद्ध व्यापक असन्तोष व्यक्त हुँदै आएको छ। यसै असन्तोषलाई निरन्तरता दिँदै युवाले सडक प्रदर्शनको बाटो रोजेका हुन्। ‘हामी सामाजिक सञ्जालमै मात्र कुरा गरेर बस्दैनौं, अब प्रत्यक्ष सडकमा हाम्रो आवाज सरकारलाई सुनाउँछौं,’ प्रदर्शनमा सहभागी एक कलेज विद्यार्थीले भने।
जेनजी पुस्ताका युवाले यो आन्दोलनलाई स्वतन्त्र र गैर-दलीय बनाउन स्पष्ट आग्रह गरेका छन्। राजनीतिक दलसँग आवद्ध भ्रातृ संगठनलाई प्रदर्शनमा सहभागी नहुन खुलेर आग्रह गरिएको छ। उनीहरूको भनाइमा यो कुनै पार्टीको कार्यक्रममा होइन, भ्रष्टाचार र बन्देजविरुद्धको आवाज हो। ‘दलहरूका भ्रातृ संस्थाले आफ्नो अजेंडा लिएर आउँदा हाम्रो आन्दोलनको शुद्धता हराउँछ,’ आयोजक युवामध्ये एकले बताए।
जेनजी पुस्ताको प्रतिवादलाई समाजका विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरूले खुलेर समर्थन गरेका छन्। शिक्षक, कलाकार, चिकित्सकदेखि उद्यमीहरूले समेत सामाजिक सञ्जालमार्फत समर्थन व्यक्त गरेका छन्। उनीहरूको भनाइमा युवा पुस्ताको जागरणले नेपालमा राजनीतिक र सामाजिक सुधारको नयाँ अध्याय सुरु गर्न सक्छ।
अहिले दलहरूभन्दा बाहिर स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको यो जेनजी पुस्ताको आन्दोलनलाई नयाँ किसिमको प्रतिवादका रूपमा हेरिएको छ। सामाजिक सञ्जालमै हुर्किएको पुस्ता अब प्रत्यक्ष लोकतान्त्रिक अभ्यासमा उत्रिन थालेको छ, जसले राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्नेछ।
जेनजीको प्रदर्शनलाई लक्षित गरेर सरकारले काठमाडौंमा उच्च सुरक्षा अपनाउँदै सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।













