न्यूनबाट उठ्दै देश निर्माणको यात्राः विषम परिस्थितिमा सबैको हातेमालो आवश्यकः प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको आन्दोलनले देशलाई ठूलो क्षति पुर्याएको बताएका छन् । पदभार ग्रहण गरेलगत्तै कर्मचारी र पत्रकारलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा केहि आतङ्क सिर्जना गर्ने व्यक्तिहरुले राज्यलाई ठुलो नोक्सानी पु-याएको भन्दै भौतिक सम्पत्तिसहित अत्यन्तै महत्वपूर्ण प्रमाणसमेत जलाइएका कारण देश न्यून अवस्थामा पुगेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीका अनुसार सर्वोच्च अदालतका सम्पूर्ण प्रमाणसहितका कागजात जलेका छन् । ‘वर्षौदेखिको सिंहदरबार जलेको छ, भौतिक क्षति ठूलो छ । भौतिक क्षतिले केही हुन्न, त्यो बनाउन सकिन्छ । तर आवश्यक प्रमाण जलेको छ । अहिले हामी न्यूनमा पुगेका छौं’ उनले भनिन् ।
उनका अनुसार आन्दोलनका क्रममा देशका अत्यन्तै महत्वपूर्ण क्षेत्रहरुमा आगजनी भएको छ । सिंहदरबार, सुरक्षाकर्मी, सर्वोच्च अदालतमा छानी–छानी प्रहार गरिएको छ । उनले यस्तो अवस्थालाई लाज लाग्दो भनेकी छन् । ‘नेपाली नै भएर यो घटनालाई देखेर लाज लागेको छ । नेपाली भएर गरेका यी कामहरुलाई नेपाली भन्न सकिन्न । हाम्रो संस्थाहरु अनुहार देखाउने अवस्थामा छैनन् । आगजनी र तोडफोडले हाम्रो अत्यन्तै महत्वपूर्ण संस्थाको अवस्था लाजलाग्दो भएको छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले घटनाबारे अनुसन्धान भइरहेको र यसमा संलग्नलाई नछोडिने स्पष्ट पारिन् । ‘यो घटनालाई यस्तो अवस्थामा ल्याउनेहरुलाई कारबाही हुन्छ’ उनले चेतावनी दिइन् ।
कार्कीले आफू कुनै सत्ताको लोभमा नभई जनताको मागअनुसार नेतृत्वमा आएको बताउँदै छ महिनाभित्रै चुनाव गर्ने घोषणा गरिन् । ‘सबैको हातेमालो अहिलेको सरकारलाई आवश्यक छ । आन्दोलनमा जति क्षति भएको छ त्यो संरचना बनाउन हामी लागि पर्नुपर्छ’ उनले भनिन् ।
उनले जनस्तरबाटै संरचना बनाउनुपर्नेमा जोड दिँदै सर्वोच्च अदालत जल्नु निकै दुःखद भएको बताइन् । ‘सार्वजनिक सम्पत्ति जलाउने अपराधिक सोच भएका व्यक्तिहरुको काम हो । तिनीहरुले देश बनाउन दिदैनन्, देश बिगार्ने मान्छे हुन्’ प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले सबै मिलेर देश निर्माणमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । उनका अनुसार जेनजी युवाहरुको सोचअनुसार काम गर्न आवश्यक छ । ‘२७ घण्टाको आन्दोलनमा जेनजीहरुले कायापलट बनाएका छन् । उनीहरुको लक्ष्य समान आर्थिक समावेश र भ्रष्टाचारमुक्त देश बनाउनु हो’ उनले भनिन् ।
उनले आन्दोलनमा ज्यान गुमाउने ससाना बच्चादेखि सबै मृतकलाई शहीद घोषणा गर्ने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् । त्यस्तै, घाइतेहरुको उपचारमा राहत उपलब्ध गराउने र मृतकको शवलाई स्थानीय तहसम्म पुर्याउन आवश्यक बाटो खर्चसमेत सरकारले व्यहोर्ने बताइन् ।
निजी क्षेत्रमा भएको तोडफोडमा समेत सरकारले मलम लगाउने प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् । उनले सबै पक्ष मिलेर नेपाल निर्माण गर्नु सबैको दायित्व भएको बताउँदै देश निर्माणमा सरकारको निरन्तर प्रयास रहने आश्वासन दिइन् । सुरक्षाकर्मी र कर्मचारीको सहयोग अपरिहार्य भएको उनको भनाइ थियो ।
उनका अनुसार आन्दोलनका क्रममा निजी सम्पत्ति, प्रहरी चौकी, सर्वोच्च अदालत, व्यवसायी र उद्योगीहरुको सम्पत्ति जलेको छ । कतिपय व्यापारीलाई ठूलो क्षति पुगेको भन्दै सरकारले ससानादेखि ठूला व्यवसायीसम्मलाई सहयोग गर्ने घोषणा पनि उनले गरिन् । ‘आतङ्कका बीच पनि मनोबल उच्च बनाएका व्यवसायीहरुलाई सरकारले सहयोग गर्नेछ । कुन तरिकाबाट सहयोग गर्न सकिन्छ भन्नेबारे हामी हेर्छौं’ उनले भनिन् ।













