दशैं-तिहारको मुख्य सिजनमै थला परेको अटो उद्योग, थापाथलीका शोरुम खण्डहरमा परिणत

काठमाडौँ । व्यापार गर्ने वातावरण अनिश्चित बन्दा योजनाबद्ध रूपमा अघि बढिरहेका व्यवसायीहरू एकै पटक निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । खास गरी अटो क्षेत्रलाई हेर्ने हो भने लामो समयदेखि दशैं–तिहारको महिना नै वार्षिक कारोबारको मेरुदण्ड मानिन्छ । यही अवधिलाई लक्षित गर्दै व्यवसायीहरूले लाखौँ रुपैयाँ लगानी गरेर गाडी प्रदर्शन, प्रमोसन र विशेष योजना अघि बढाउँछन् । भदौ पहिला साता तिर सम्पन्न दुई ठुला अटो शोको उत्साह जमिनमा टेकिन नपाउँदै बजारमा देखिएको असामान्य परिस्थितिले त्यही योजनालाई धरापमा पारेको छ ।
अटो शोको उद्देश्य केवल नयाँ मोडल देखाउने मात्र होइन उपभोक्ताको मनोविज्ञानलाई कन्फिडेन्स दिने हो । शोमा आएका हजारौँ दर्शकमध्ये धेरैले तत्काल खरिद नगरे पनि बुकिङ गर्ने, पछि खरिद गर्ने मानसिकता बनाउँछन् । यही कारण प्रदर्शनीपछिको एक महिना व्यवसायीका लागि वास्तविक बिक्रीको समय मानिन्छ । तर, अहिले उत्पन्न राजनीतिक तथा सामाजिक अस्थिरताले उक्त समय नै अनिश्चित बनेको छ ।
जेन जी आन्दोलनमा विभिन्न ठाउँमा तोडफोड र आगजनीका कारण सार्वजनिक तथा निजी सवारीसाधन क्षतिग्रस्त भएपछि मानिसहरू नयाँ गाडी किन्नभन्दा पहिले सुरक्षा र आवश्यकताको प्राथमिकता सोच्न थालेका छन् । यसले गर्दा अटो शोबाट आएको बुकिङ तत्काल बिक्रीमा परिणत हुने सम्भावना कमजोर देखिएको छ ।
अटो बजारमा बाधा आउनु केवल व्यापारिक घाटाको प्रश्न होइन व्यापक अर्थतन्त्रसँग पनि गाँसिएको छ । गाडी खरिद गर्दा उपभोक्ताले बैंकमार्फत ऋण लिन्छन्, बीमा कम्पनीसँग सेवा जोडिन्छ, सरकारलाई भन्सार, भ्याट र सडक कर भुक्तानी हुन्छ, पेट्रोलियम र चार्जिङ स्टेसनको खपत बढ्छ । यसरी अटो उद्योग सक्रिय हुँदा पूरै मूल्य शृङ्खला चलायमान हुन्छ । तर, अहिले उत्पन्न अवस्थाले यस सम्पूर्ण चक्रमा ठप्प प्रभाव पार्ने सङ्केत देखिएको छ ।
यसअघि सम्पन्न दुई अटो शोले बजारमा सकारात्मक सन्देश दिएको थियो । नयाँ मोडलप्रतिको चासो, आकर्षक अफर र उपभोक्ता भीडले व्यवसायीलाई यो दशैं–तिहारमा कारोबार वृद्धिको उच्च आशा दिएको थियो । तर, परिस्थिति उल्टिँदा त्यही आशा नै ठुलो निराशामा परिणत भएको छ ।
अटो उद्योगमा कता के भयो ?
भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलन २४ गते आएर हिंसात्मक रूप लिँदा अटो मोबाइल उद्योग सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ । राजधानीसहित विभिन्न सहरमा सयौँ निजी तथा सरकारी गाडी तोडफोड र आगजनीमा परे भने अटो शोरुमहरू प्रत्यक्ष आक्रमणको लक्ष्य बने ।
विशेषगरी, राजधानीको थापाथली क्षेत्रमा आन्दोलनकारीको आक्रमण निकै तीव्र रह्यो । यो क्षेत्रलाई लामो समयदेखि अटो हब मानिन्छ, किनकि यहाँ दर्जनौँ ब्रान्डका शोरुमहरू एकैसाथ अवस्थित छन् । तर, यही विशेषताले आन्दोलनकारीको पहिलो निशाना पनि यही क्षेत्र बन्न पुगेको हो ।
थापाथलीमा रहेका टाटा, हुन्डाई, महिन्द्रा, सुजुकी, सीजी मोटर्सलगायतका शोरुममा गरिएको तोडफोड र आगजनीले संरचनात्मक क्षति मात्र होइन त्यहाँ प्रदर्शनका लागि राखिएका गाडीसमेत खरानीमा परिणत भए । दशैं–तिहार नजिकिँदै गर्दा यो क्षति व्यवसायका लागि मात्र होइन सम्पूर्ण बजारको विश्वासका लागि ठुलो धक्का हो ।
विशेषगरी थापाथलीमा रहेको टाटा मोटर्सको शोरुममा रहेका चार वटा गाडीलाई आगजनी गरिएको हो । चौधरी ग्रुपले लिजमा सञ्चालन गरिरहेका चार ब्रान्डका लागि प्रयोग भएको भवन नै सम्पूर्ण रूपमा ध्वस्त बनाइयो । यस स्थानमा रहेका सात वटा गाडी जलेर खरानी भए । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत यो घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
महिन्द्रा र सुजुकीका शोरुम पनि प्रदर्शनकारीको निशाना बने । महिन्द्राको संरचना पूर्ण रूपमा जलाइयो भने सुजुकीमा भने क्षति झन् गहिरो देखियो । सुजुकी शोरुममा जम्मा ११ वटा गाडी नोक्सानमा परे । तीमध्ये दुई वटा गाडी पूर्ण रूपमा जले, अन्य दुई वटा आधाभन्दा बढी क्षतिग्रस्त भए भने बाँकीमा तोडफोडका कारण प्रयोग असम्भव हुने अवस्था बनेको छ । यो शोरुम नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको हो ।
थापाथली क्षेत्रमा मात्रै कूल ३० भन्दा बढी गाडीमा क्षति पुगेको छ ।
नाडा भन्छ, ‘हामी फेरी उठ्ने छौँ’
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल नाडाले भने एक विज्ञप्ति जारी गर्दै चुनौतिकाबीच अटो व्यवसायी पुन माथि उठ्ने प्रतिबद्धता व्यक्त गरेको छ । अटो मोबाइल उद्योग रोजगार, लगानी र कर राजस्वसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले हालको असुरक्षाले कर्मचारी, ग्राहक र व्यवसायी सबैको विश्वासमा नकारात्मक असर पारे पनि पुनः माथि उठ्ने विश्वास लिएको हो ।
दीर्घकालीन रूपमा रोजगारी, लगानी र उद्योग सञ्चालनमा थप चुनौती निम्त्याउने भन्दै सङ्गठनले सरकारलाई व्यावसायिक समुदायको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । नाडाले सदस्य कम्पनीहरूको हित जोगाउने र उपभोक्ताको विश्वास कायम राख्ने प्रतिबद्धता प्रकट गर्दै शान्तिपूर्ण संवादमार्फत मात्र समस्याको स्थायी समाधान खोजिनुपर्नेमा जोड दिएको छ ।
देशभर फैलिएको आन्दोलनले मुलुकभर छाडेको गहिरो प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जीवन गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण र प्रभावित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।













