जेन जी आन्दोलनको २० अर्ब दावी मध्ये ६५ प्रतिशत नेपाल रि र हिमालयन रिमा, विदेशमा रेट्रो गरेकोले दुवै सुरक्षित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा बीमा दावी परेकोले कम्पनीले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको भन्दै बजारमा अनेकथरी हल्ला चलेको कारण आज नेपाल स्टक एक्सचेन्जमा सो कम्पनीको मूल्यमा सर्टिक लाग्दा सिंगो पुँजि बजार नै क्र्यास हुन पुग्यो । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीको पनि शेयर मूल्य उच्च अंकले घट्यो । तर, बीमापोष्टलाई प्राप्त जानकारी अनुसार यथार्थ फरक छ ।
जेन जी आन्दोलनको क्रममा परेको कूल बीमा दावी, बीमा प्राधिकरणका अनुसार २० अर्ब ७० हजार ३८ लाख १४ हजार ४८२ रुपैयाँ हो । सो दावी रकममा शत प्रतिशत बीमा कम्पनीले तिर्नुपर्छ भन्ने होइन । त्यसमा मूल्याङ्कनको क्रममा करिब १५ देखि २५ प्रतिशत कम हुनसक्नेछ । सो आधारमा पछिल्लो तथ्याङ्कको आधारमा बीमा कम्पनीहरुले करिब १६ देखि १७ अर्ब रुपैयाँ दावी तिर्नुपर्ने देखिन आएको छ ।
अहिलेको बीमा दावी हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत पर्दछ । सो आधारमा औषतमा नेपाल पुनर्बीमा कम्पनीमा ६५ प्रतिशत र बीमा गर्ने कम्पनीको हिस्सा ३५ प्रतिशत हिस्सा भागबण्डा गरिएको छ । ६५ः३५ प्रतिशत रेसियोको आधारमा कूल २० अर्ब ७० करोड दावी मध्ये नेपाल पुनर्बीमा कम्पनीमा करिब १४ अर्ब र बाँकी हिमालयन रि तर्फ पर्ने देखिन आएको छ । सो आधारमा नेपाल रितर्फ नौ अर्ब र हिमालयन रि तर्फ सवा तीन अर्ब रुपैयाँ दावी पर्ने देखिएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण
कूल दावी मूल्याङ्कनको क्रममा नेपाल पुनर्बीमा कम्पनीमा करिब साढे सात अर्ब देखि आठ अर्ब रुपैयाँ पर्ने देखिन आएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीको भागमा पर्ने सवा तीन अर्ब रुपैयाँ मात्रै दावी पर्ने देखिन आएको छ ।
नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स दुवै पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय स्टाण्डर्डमा नेपालमा पुनर्बीमा कारोबार गर्दै आएका छन् । दुवै कम्पनीले विदेशस्थित ए रेटिङ पुनर्बीमा कम्पनी कम्पनीमा पुनर्बीमा गरेकोले यसको दायित्व विदेशबाट समेत व्यहोरिनेछ । नेपाल पुनर्बीमा कम्पनीका एक उच्च अधिकारीले बीमोपोष्टसँग भने, ‘हामीले रेट्रो (पुनर्बीमाको पनि पुनर्बीमा) गरेका छौं । आत्तिनुपर्ने अवस्था छैन ।’ त्यस्तै हिमालयन रि इन्स्योरेन्स कम्पनीले पनि ए रेटिङ भएको विदेशी पुनर्बीमा कम्पनीमा रेट्रो गरेकोले विदेशी पुनर्बीमा कम्पनीबाट पैसा ल्याएर नेपालमा भएको क्षतिको दावी भुक्तानी हुनेछ ।
यद्यपि निश्चित प्रतिशतको हिस्सा भने पुनर्बीमा कम्पनीहरुको भागमा पर्नेछ । त्यस्तै हिस्सा दश देखि २५ प्रतिशतसम्म हुनसक्नेछ । हुलदंगा तथा आतंकवाद सम्बन्धी बीमाको पर्याप्त पुनर्बीमा गरिएकोले नेपाली पुनर्बीमा कम्पनीहरु अप्ठेरो अवस्थामा नभएको बीमा प्राधिकरणका उच्च अधिकारी पनि स्वीकार गर्दछन् । पुनर्बीमा कम्पनीहरुले ठूलो मात्रामा जोखिम धारण गरेकोले उनीहरुलाई मुनाफाको लागि जोखिम बढी राख्न नपाउने भएकोले पनि नेपाली पुनर्बीमा कम्पनीहरु खतरामुक्त रहेका छन् ।













