नेपाल पुनर्बीमा कम्पनीले जेन जी आगजनीमा अर्बौ क्षतिको दावी हनोभर रिमा पेश, अग्रिम भुक्तानी दिने तयारीमा कम्पनी

५ आश्विन २०८२, आईतवार १०:३४

काठमाडौं । नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले गत भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडको अर्बौ रुपैयाँ दावी परेपछि जर्मनीस्थित हनोभर रिसँग पुनर्बीमाको भुक्तानी प्रक्रिया सुरु गरेको जनाएको छ ।

नेपाल रिका अनुसार कम्पनीले हुलदंगा तथा आतंकवाद अन्तर्गत नेपाली कम्पनीहरुबाट धारण गरेको ६५ प्रतिशत जोखिम जर्मनीको प्रख्यात हनोभर रि इन्स्योरेन्स कम्पनीको नेतृत्वमा विश्वका अन्य कम्पनीहरुमा पुनर्बीमा गरेको थियो । स्रोतका अनुसार ४० प्रतिशत लिडर कम्पनी हनोभर रि र बाँकी अन्य पुनर्बीमा कम्पनीहरुमा रेट्रो गरिएको थियो । सोको लागि कम्पनीले बीमा दावी प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले तत्काल बीमा कम्पनीहरुलाई अग्रिम बीमा दावी भुक्तानी गर्ने तयारी गरिरहेको समेत जनाएको छ । ‘तलरता समस्या भएका बीमा कम्पनीहरुलाई अग्रिम भुक्तानी दिन समेत हामी तयार छौं,’ नेपाल पुनर्बीमा कम्पनीका एक अधिकारीले बीमापोष्टसँग भने ।

 

हालसम्म जेन जी आन्दोलनको क्रममा २० अर्बको बीमा दावी परेको छ । सो मध्ये नेपाल पुनर्बीमा कम्पनीको भागमा छ देखि नौ अर्ब रुपैयाँसम्म दावी पर्ने देखिएको छ । सो दावी नेपाल पुनर्बीमा कम्पनीले जोखिम हस्तान्तरण गरेको जर्मनीको हनोभर रिसँग लिएर भुक्तानी गर्ने जनाएको छ । सोको लागि आवश्यक प्रक्रिया सुरु भइसकेको कम्पनीको भनाई छ ।

बीमा कम्पनीहरुलाई अग्रिम भुक्तानी दिन रकम नेपाल पुनर्बीमा कम्पनीसँग पर्याप्त नगद मौज्दात रहेकोले भुक्तानीको लागि समस्या नभएको कम्पनीका एक अधिकारीले जनाए । बीमा कम्पनीहरुमा बीमितले जति छिटो कागजात पेश गर्न सक्नुहुन्छ उति नै छरितो दावी भुक्तानी हुनसक्ने भएकोले बीमितले दावी भुक्तानी प्रक्रियामा सक्रियता देखाएको आधारमा दावी छरितो हुने ति अधिकारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*