बजाजका मोटरसाइकलमा आगलागीको जोखिम: गुडिरहेको समयमा जलेर हुन सक्छ खरानी!

काठमाडौँ । तपाईँ दशैंको मौका छोपेर बजाजका मोटरसाइकल किन्न सोचिरहनु भएको छ ? पर्खिनुहोस् तपाईंको सवारी कहिले, कहाँ, कसरी खतरामा पर्ला भन्ने कुरा निश्चित छैन । मोटरसाइकल सामान्यतया यात्रा सजिलो बनाउने साधन हो । तर बजाजका केही मोडेलहरू यति जोखिमपूर्ण बन्दै गएका छन् कि केवल चलाउने मात्र होइन पार्किङमा राख्न पनि साहस चाहिन्छ । किनभने कहिले, कहाँ, कसरी आगो लाग्छ भन्न सकिँदैन ।
पछिल्लो समय बजारमा लोकप्रिय देखिएका बजाज ब्रान्डका मोटरसाइकलमा एकपछि अर्को समस्या देखिन थालेका छन् । ग्राहकहरूले सुरुमा लुक्स, पर्फमेन्स र प्रचारको प्रभावमा लोभिएर सवारी किने भए पनि लामो समयको प्रयोगमा गम्भीर त्रुटिहरू देखा पर्न थालेका छन् । विशेषतः सुरक्षा पक्षमा प्रश्न उठाउने खालका घटनाहरू सार्वजनिक भएका छन् । मोटरसाइकल गुड्दा वा पार्किङमै आगलागी हुने, इन्धन चुहावट हुने, वायरिङ सर्ट हुने, अत्यधिक तात्ने जस्ता समस्या व्यापक देखिन थालेका छन्, जसका कारण यो ब्रान्डप्रति उपभोक्ताको विश्वास घट्दो क्रममा छ ।

बजाजको नाममा सबैभन्दा धेरै आलोचना कमाउने मोडेलहरूमा पल्सर एनएस २०० र पल्सर १५० रहेका छन् । यी मोडेलहरूमा विशेष गरी आगलागी समस्या तीव्र रूपमा देखिन थालेको छ । इन्धन ट्याङ्की नजिकबाट धुवाँ निस्कन थालेको, इन्जिन वरिपरी गन्ध आउने र पेट्रोल चुहिने समस्या बजारमा लगातार उठिरहेका छन् । ग्राहकहरूले आफैंले अनुभव गरेका घटनाहरू सामाजिक सञ्जालमा शेयर गरेका छन् जसले उपभोक्तामा चिन्ता र डर सिर्जना गरेको छ ।
काठमाडौँ, चितवन, बुटवल, पोखरा, धनगढी लगायतका मुख्य सहरहरूमा यस्ता घटनाहरू सार्वजनिक भएका छन् । अहिले फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा बजाज बाइक आगलागीका दृश्य दिनप्रतिदिन देखिन थालेका छन् । एनएस मोडलका मोटरसाइकल बाटोमा चलिरहँदा आगो लागेको, गुडिरहेको बेलामा धुवा निस्किएको, पार्किङमा राख्दा अचानक आगो सल्किएको जस्ता उदाहरण धेरै छन् । कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा पनि दैनिक रूपमा आगलागी भएका मोटरसाइकल आउने क्रम बढ्दो छ ।

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी हो । तर, आगलागी बढ्दो घटनाबारे कम्पनीले केही बोलेको छैन । सामाजिक सञ्जालमा बजाज बाइक जलिरहेको भिडियो र फोटो भाइरल बनेका छन् । बाइक गुड्दा अगाडि भागबाट आगो लाग्ने, बाइक थन्क्याएर पाँच मिनेट नबित्दै आगोको लप्का देखिने, इन्धन चुहिएर फुटपाथमै आगो सल्किने जस्ता घटना सामान्य हुन थालेका छन् । यस्तो संवेदनशील सुरक्षाका विषयमा कम्पनी गम्भीर नभएर बिक्री प्रवद्र्धन र मार्केटिङमा मात्र केन्द्रित देखिनु उपभोक्ताप्रति बेइमानीको प्रमाण हो ।

हंशराज हुलासचन्दले बेला बेला काठमाडौँको भृकुटीमण्डपमा ‘बाइक मेला’ आयोजना गर्दै आएका छन् । त्यहाँ ग्राहक तान्नका लागि नगद छुट, एक्सचेन्ज अफर, निःशुल्क बीमा, निःशुल्क सर्भिसिङ जस्ता लुभाउने योजना प्रस्तुत गरिन्छ । बजार घट्दो क्रममा देखिएपछि कम्पनीले चिल्ला अफर ल्याउने गरेको छ ।
नेपालका सहरहरूमा बजाज मोटरसाइकल आगलागीका घटनाहरू दिनप्रतिदिन सार्वजनिक हुँदै गएका छन्। यसले उपभोक्तालाई बाइक किन्नुअघि सतर्क हुन प्रेरित गरेको छ । ग्राहकले केवल अफर र विज्ञापनमा भरोसा गरेर बाइक किन्नु जोखिमपूर्ण हुन सक्छ ।
भारतमा आगलागी र प्राविधिक समस्याले बदनाम बजाज चेतक ईभी स्कुटर नेपालमा, बजार चुनौतीपूर्ण













