नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापालाई ज्यान मार्ने धम्की !, जिल्ला प्रहरीको शरणमा

काठमाडौं । राजिनामा गरेँ, अब आउदिन भन्दै चार दिनदेखि बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले आफ्नो ज्यान असुरक्षित भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको र असुरक्षित भएको भन्दै हिजो दिनभर प्रहरी कार्यालयभित्र बसेको खुलेको छ ।
सिईओ थापाले आफ्नै कम्पनीका कर्मचारीहरुबाट असुरक्षित भएको भन्दै जिल्ला प्रहरी कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् । निवेदन साथ आफू असुरक्षित भएको भन्दै प्रहरी कार्यालयबाट बाहिर निस्कन नमानेपछि प्रहरीले धम्की दिइएको भनिएका कर्मचारीहरुलाई बोलाएर छलफल गराएको खुलेको छ । सिईओ थापा हिजो दिनभर प्रहरी कार्यालयमा बसेका थिए ।
छलफलको क्रममा सिईओ थापाले कुन कुन कर्मचारीहरुले कुन कुन माध्यमबाट धम्की दिएको भन्ने खुलाउन नसकेको जनाइएको छ । सिईओ थापाले बोर्डबाट राजिनामा गर्छु, मलाई काम गर्न लाज भयो भन्दै बैठककै बीचमा उठेर हिडेका थिए । त्यसपछि सिईओ थापा तीन दिनसम्म कार्यालयमा उपस्थित भएका थिएनन् । विदा समेत स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएको समाचार बीमापोष्टमा प्रकाशित भएको थियो । सो लगत्तैै थापामाथि राजिनामा गर्न चर्को नैतिक दवाव सिर्जना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईले सिईओ थापाले लिखित निवेदन दिएको र सोही आधारमा दुवै पक्षलाई राखेर छलफल गराएर सहमति गरी पठाएको पुष्टि गरेका छन् । हिजो कर्मचारी र सञ्चालक समितिका अध्यक्ष समेतलाई बोलाएर छलफल भएको थियो ।













