घट्यो शेयर बजारः कारोबार समेत सुस्त, किन बढ्न सकेको छैन मार्केट ?

९ आश्विन २०८२, बिहीबार १५:०५

काठमाडौँ । बुधबार राताम्य भएको शेयर बजार आज झिनो अकंले घटेको छ । अघिल्ला दुई दिन हरियाली देखिएको बजार पछिल्ला दुई दिन सुस्त रहेको छ । बजार ओरालो लाग्दा दशैंको मुखमा लगानीकर्ताले ठूलो रकम गुमाइरहेको स्थिति देखिएको छ ।

देशमा हाल अन्तरिम सरकार रहेको छ । फागुनमा चुनावको मिति तय भइसकेको अवस्थामा पनि राजनीतिक अस्थिरताका कारण बजारले अपेक्षित गति लिन सकेको छैन। पुराना दलहरूको विरोध आन्दोलन र जेन जी आन्दोलनभित्रको विभाजनले लगानीकर्तामा अनिश्चितता बढाएको छ ।

विशेषज्ञहरूका अनुसार नवनियुक्त अर्थमन्त्रीले आर्थिक नीतिसम्बन्धी स्पष्ट दिशानिर्देश नदिँदा बजारमा अन्योल बढेको छ । शेयर बजारको भविष्य केवल आर्थिक नीतिसँग मात्र होइन, राजनीतिक स्थायीत्वसँग पनि गाँसिएको छ । यस्तो परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर बनेको र बिक्री प्रवृत्ति तीव्र भएको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अकंले घटेर २६५२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको १.४९ प्रतिशत, फाइनान्स समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको ०.४४ प्रतिशतले घटेको हो ।

बिहिबार १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*