जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १७ प्रतिशत बढ्यो, नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा अगाडी

काठमाडौं । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब ७० करोड ८५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आवको यसै अवधिसम्म २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका कम्पनीहरूले यस वर्ष भने १७.३३ प्रतिशत बढी आर्जन गरेका हुन्।
नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ७ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। यस कम्पनीले अघिल्लो वर्ष ७ अर्ब ७० करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो।
त्यसैगरी दोस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ र तेस्रोमा नेशनल लाइफले ३ अर्ब ५ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। यी कम्पनीहरूले अघिल्लो वर्ष क्रमशः ७३ करोड ५१ लाख रुपैयाँ र २ अर्ब ८० करोड १० लाख रुपैयाँ कमाएका थिए।
यता एलआईसी नेपालले २ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले करीब १ अर्ब ६० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ५ करोड ८५ लाख रुपैयाँ नवीकरण बीमाुशल्क आर्जन गरेका छन्।
वृद्धिदरको आधारमा
वद्धिदरको आधारमा हेर्ने हो भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क आर्जन एकैचोटी ४०१.४६ प्रतिशतले बढेको छ। त्यसपछि आइएमई लाइफको १८.५१ प्रतिशत, सिटिजन लाइफको १४.६९ प्रतिशत, सूर्यज्योति लाइफको १२.९० प्रतिशत र सन नेपाल लाइफको ११.९१ प्रतिशतले बढेको देखिएको छ।














