जीवन बीमकको व्यवसाय १७%ले बढ्यो, आइएमई– रिलायबल र सिटिजनको उच्च बृद्धि

१० आश्विन २०८२, शुक्रबार ११:१८

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७.१५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब आठ करोड ८२ लाख रुपैयाँ कुुल बीमा शुल्क आर्जन गरेका थिए ।

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २८३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन चार अर्ब आठ करोड तीन लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षमा आइएमई लाइफले उत्कृष्ट सुरुवात गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय ३१.८५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पनि व्यवसाय बृद्धिमा आक्रामक देखिएको छ । कम्पनीले गत आवको तुलनामा आफ्नो व्यवसाय १८.६४ प्रतिशतले बृद्धि भएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण–बीमा शुल्क आर्जनको आधारमा

सिटिजन लाइफ इन्स्योरेन्सको १७.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ११.२१ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको ११.१० प्रतिशत, मेट लाइफको ९.८६ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९.१९ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढेको छ ।

साथै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९.१९ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ७.१५ प्रतिशत, एलआइसी नेपालको २.६२ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशत र एशियन लाइफको ०.८३ प्रतिशतले व्यवसाय बढेको छ । यस अवधिमा सन नेपाल लाइफको व्यवसाय झिनो अंकले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*