प्रहरीमार्फत् फेस सेभिङ गरेर कार्यालयमा हाजिर भए नेपाल रिका सिईओ थापा

काठमाडौं । सञ्चालक समितिको बैठकबाट राजीनामा गरेर बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा हिजोबाट कार्यालयमा हाजिर हुन गएका छन् । चार दिनसम्म बिदा समेत स्वीकृत नगराई गैरजिम्मेवार तरिकाले बेपत्ता भएका सिईओ थापा अन्ततः असोज ८ गते महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत सहमति भएको भन्दै पुनः हाजिर हुन गएका छन् ।
कम्पनीभित्र काम गर्न नसकेपछि मौखिक रूपमा राजीनामा गरेर अब आउँदिन भनेर बिदा भएर हिंडेका सिईओ थापाले लिखित राजीनामा भने दिएका थिएनन् । थापा बेपत्ता भएपछि सिईओको काम समेत गर्न पाउने गरी डेपुटी सिईओ दामोदर भण्डारीलाई सञ्चालक समितिले अधिकार प्रदान गरिसकेको थियो । थापा नभए पनि पुनर्बीमा कम्पनीका कुनै पनि काम अल्झिने अवस्था नआओस भनेर सञ्चालक समितिले यस्तो निर्णय गरेको थियो ।
तर थापाले प्रहरीमा सहमति गरिसकेको भन्दै हिजोबाट कार्यालयमा हाजिर भएका हुन् । सिईओ थापाले राजीनामा गरेर अब आउँदिन भनेर बिदा भइसकेपछि कार्यालय फर्किन नैतिक रूपमा मिलेको थिएन । अन्ततः प्रहरीमा जाहेरी दिएर फेस सेभिङ गर्दै कार्यालय फर्केको घटनाले सिंगो बीमा क्षेत्र आश्चर्यचकित् बन्न पुगेको छ ।













