जीवन बीमा कम्पनीद्वारा भदौमा साढे तीन अर्बको प्रथम बीमा शुल्क आर्जन, आइएमई लाइफ र एलआइसीको उत्कृष्ट सुरुवात

१२ आश्विन २०८२, आईतवार १६:४१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ महिनामा तीन अर्ब २६ करोड ८६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार साउन महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुको नयाँ व्यवसाय गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १६ दशमलव ३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा दुई अर्ब ८१ करोड ७२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए । विवरण अनुसार साउन महिनामा पनि नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

यता, गत आवको तुलनामा आइएमई लाइफ, एलआइसी नेपाल र नेशनल लाइफ आक्रामक देखिएका छन् । समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये चार वटाको प्रथम बीमा शुल्क आर्जनमा गिरावट आएको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

आइएमई लाइफ इन्स्योरेन्स नयाँ व्यवसाय भित्र्याउनमा आक्रामक देखिएको छ । कम्पनीले चालु आवको भदौ महिनामा मात्रै आफ्नो प्रथम बीमा शुल्क आर्जन १०४.८३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । दोस्रो नम्बरमा रहेको एलआइसी नेपाल पनि नयाँ व्यवसाय भित्र्याउन आक्रामक रुपमा अघि बढिरहेको छ । कम्पनीले गत आवको तुलनामा आफ्नो नयाँ व्यवसाय ६३.१९ प्रतिशतले बढाउन सफल भएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो महिनामा ४३.४५ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएको छ । साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३३.१० प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सको २६.९१ प्रतिशतले गत आर्थिक वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

भदौ महिनामा मेट लाइफको २२.७२ प्रतिशत, नेपाल लाइफको २१.०१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २०.६४प्रतिशत, सरकारी कम्पनी राष्ट्रिय जीवन बीमाको २०.०५ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ५.६८ प्रतिशतले बृद्धि भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको छ ।

समग्र रुपमा हेर्दा भदौ महिना पनि बीमा कम्पनी र अभिकर्ताहरुको लागि निकै महत्वपूर्ण रहेको छ । अभिकर्ताहरुलाई कम्पनीहरुले दिएका विभिन्न टार्गेटहरुको पुरा गर्न भदौ महिना निकै महत्वपूर्ण हुन्छ । जीवन बीमा कम्पनीहरुले साउन महिनामा विभिन्न व्यवसायीक रणनीतिक योजना र अभिकर्ता प्रोत्साहन गर्ने लगायतका क्रियाकलाप बढी हुने गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*