आईपीओको तयारीमा रहेको जय अम्बे स्टीलको व्यापार ८ अर्ब ७५ करोड, १० अर्ब कर्जाका लागि रेटिङ

२० आश्विन २०८२, सोमबार १०:१९

धनगढी । प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा रहेको जय अम्बे स्टील्स लिमिटेडले पछिल्ला वर्षहरूमा उत्पादन विस्तार, बजार सुदृढीकरण र वित्तीय सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । अम्बे ग्रुपअन्तर्गत संचालनमा रहेको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै देशको स्टील उद्योगमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा ५ अर्ब ८० करोड रुपैयाँको कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब ९९ करोड रुपैयाँ, २०७९/०८० मा ८ अर्ब ९९ करोड रुपैयाँ, २०८०/०८१ मा ८ अर्ब ४९ करोड रुपैयाँ र चालु आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको हो ।

सन् २०१७ अप्रिल २७ मा ‘जय अम्बे स्टील्स प्रालि’का नाममा स्थापना भएकोे कम्पनी सन् २०२२ जुलाई १३ मा ‘जय अम्बे स्टील्स लिमिटेड’मा रूपान्तरण भएको हो । कम्पनीको उत्पादन इकाइ बाँके जिल्लाको जानकी गाउँपालिका–५ मा अवस्थित छ, जहाँबाट कम्पनीले टीएमटी स्टील बार, बिलेट्स, तोर्करी वायर, र ग्याबियन बक्सजस्ता उत्पादनहरू गर्दै आएको छ । कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ५ लाख ८ हजार ५०० मेट्रिक टन छ, भने ग्याबियन बक्सको उत्पादन क्षमता १५ लाख वर्ग मिटर रहेको छ ।

कारोबार वृद्धिसँगै कम्पनीको आम्दानी र सञ्चालन नाफामा पनि क्रमिक सुधार देखिएको छ । कम्पनीको सञ्चालन नाफा अनुपात आर्थिक वर्ष २०७७/०७८ मा २ प्रतिशतमा सीमित रहेकामा २०७८/०७९ मा ३.२६ प्रतिशत, २०७९/०८० मा ६.१४ प्रतिशत, २०८०/०८१ मा ८.५७ प्रतिशत र २०८१/०८२ मा झण्डै ११.३४ प्रतिशत पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात पनि क्रमिक रूपमा घट्दै गएको छ । यो अनुपात २०७७÷०७८ मा ५१.५३ गुणा रहेकोमा २०७८/०७९ मा २३.३८ गुणा, २०७९/०८० मा १४.०४ गुणा, २०८०/०८१ मा १३.८७ गुणा र चालु आर्थिक वर्षमा १०.१४ गुणामा झरेको छ ।

कम्पनीको व्याज तिर्न सक्ने क्षमताको सूचक पनि विगतका वर्षहरूमा ०.६१ गुणाबाट बढ्दै हाल १.४४ गुणासम्म पुगेको छ । यद्यपि, कम्पनीको चल सम्पत्ति र चल दायित्वको अनुपात हाल ०.९६ गुणामा रहेको छ ।

उत्पादन र कारोबारमा निरन्तर वृद्धि गर्दै गए पनि कम्पनीमा ऋणको मात्रा अझै उच्च स्तरमा रहेको देखिन्छ । कम्पनीको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा समग्र ऋण–पूँजी अनुपात ३.६२ गुणा रहेको छ, जसको अर्थ कम्पनीको स्व–पूँजीभन्दा करिब साढे तीन गुणा बढी ऋण रहेको हो । अघिल्ला वर्षहरूमा पनि यो अनुपात ४ गुणाको हाराहारीमा रहँदै आएको छ ।

जय अम्बे स्टील्सले नेपालकै स्टील उद्योगमा नयाँ प्रविधि र उच्च गुणस्तरको उत्पादनका माध्यमबाट प्रतिस्पर्धात्मक क्षमता बढाइरहेको छ । यसको उत्पादनहरू विशेष गरी टिएमटि स्टील बार र बिलेट्स हाल देशभरका ठूला निर्माण परियोजनाहरूमा प्रयोग भइरहेका छन् । कम्पनीले बजार विस्तारका क्रममा पश्चिम नेपालका साथै काठमाडौं उपत्यका र तराईका औद्योगिक क्षेत्रहरूमा आपूर्ति सञ्जाललाई सुदृढ बनाएको छ ।
कम्पनीले आफ्नो वित्तीय स्थायित्व र दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको मूल्याङ्कन पाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ट्रिपल बी माइनस – इश्युअर रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त कम्पनीहरूलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम स्तरको सुरक्षा भएको मानिन्छ ।

इन्फोमेरिक्स नेपालले कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूका लागि ४ अर्ब ८५ करोड ९९ लाख ९० हजार रुपैयाँ बराबरको रकममा आइआरएन ट्रिपल बी माइनस र स्वल्पकालीन बैंक सुविधाहरूका लागि ५ अर्ब ७४ करोड रुपैयाँमा आइआरएन ए३ रेटिङ प्रदान गरेको छ ।

कुल मिलाएर कम्पनीका बैंक सुविधाहरू १० अर्ब १६ करोड ७५ लाख रुपैयाँ बराबर रहेका छन् । यद्यपि, सानिमा बैंक लिमिटेडसँग सम्बन्धित सुविधाहरूमा स्थायी कार्यशील पूँजी ऋण, अल्पकालीन ऋण तथा गैर–निधि आधारित ऋणहरूको जम्मा रकम ४५ करोड रुपैयाँ ननाघ्ने व्यवस्था गरिएको छ ।

कम्पनीका प्रमुख शेयरधारकहरूमा शोभरकर न्यौपानेको ३१.५० प्रतिशत र शिवजी न्यौपानेको २० प्रतिशत स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*