द्रुत विस्तार र सुदृढ पुँजीसहित लिबर्टी माइक्रो लाइफको रेटिङ यथावत्

२६ आश्विन २०८२, आईतवार १०:३८

धनगढी । इक्रा नेपालले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको जारीकर्ता रेटिङ इक्रा एनपी-आइआर ‘डबल बि माइनस’ पुनः पुष्टि गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा विश्वास कायम रहेको संकेत गर्दछ । लिबर्टीले छोटो समयमै व्यवसायिक विस्तार गर्दै स्थायित्वका लागि उल्लेखनीय प्रगति गरेको मूल्याङ्कन इक्रा नेपालले गरेको हो ।

लिबर्टीले हालसम्म देशभर १४ वटा शाखा स्थापना गरी आफ्नो पहुँच विस्तार गरेको छ, जुन नयाँ बीमा कम्पनीका लागि राम्रो उपलब्धि हो। कम्पनीको बलियो पुँजी संरचनाले व्यवसायिक वृद्धि र बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । इक्रा नेपालले लिबर्टीको हालको कारोबार आकारअनुसार पुनर्बीमा व्यवस्थापन पनि सन्तोषजनक रहेको जनाएको छ, जसले कम्पनीलाई जोखिम न्यूनीकरणमा सहयोग पु-याइरहेको छ ।

लिबर्टीले बीमा व्यवसायमा छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सन् २०२३ नोभेम्बरमा सञ्चालन सुरु गरेको कम्पनीले विदेशी रोजगार बीमा कार्यक्रममार्फत ठूलो संख्यामा ग्राहकसम्म सेवा पु¥याउन सफल भएको छ । विदेशी रोजगार बीमा कोषमा कम्पनीको सक्रिय सहभागिताले प्रिमियम संकलनमा सकारात्मक प्रभाव पारेको छ ।

हाल लिबर्टीको बीमा उत्पादनमा टर्म बीमा प्रमुख रूपमा रहेको छ, जसको हिस्सा कुल बीमा प्रिमियमको झन्डै ७२ प्रतिशत पुगेको छ । यसमध्ये विदेशी रोजगार बीमा कोषमार्फत आएको अंश करिब ४४ प्रतिशत रहेको छ । यसले कम्पनीको उत्पादक क्षमतामा बलियो योगदान पु-याएको देखिन्छ । साथै, कम्पनीले थोक बीमा क्षेत्रमा पनि करिब २७ प्रतिशत कारोबार विस्तार गरेको छ, जसले विविध ग्राहक समूहमा सेवा पु-याउने लक्ष्यलाई सघाएको छ ।

इक्रा नेपालले लिबर्टीको कारोबार आकार अझै सानो रहे पनि यसको वृद्धि दर, शाखा विस्तार र व्यवस्थापकीय दक्षतालाई सकारात्मक रूपमा व्याख्या गरेको छ । बजारमा प्रतिस्पर्धा तीव्र भए पनि कम्पनीले आफ्नो सञ्जाल र सेवा क्षमताका माध्यमबाट स्थायित्वतर्फ अघि बढिरहेको बताइएको छ । नियामक निकायले माइक्रो इन्स्योरेन्स कम्पनीहरूको बीमांक रकम पाँच लाख रुपैयाँसम्म सीमित राखेको अवस्थाले कम्पनीको लक्षित ग्राहक वर्गलाई स्पष्ट परिभाषित गरेको छ। यसले सीमित आय भएका वर्गमा बीमा सचेतना विस्तार र वित्तीय समावेशीकरणमा योगदान पु¥याइरहेको लिबर्टीको भूमिकालाई झल्काएको छ ।

सन् २०२५ जुलाई मध्यसम्म लिबर्टीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ पुगेको छ। कम्पनीमा विभिन्न प्रतिष्ठित संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूको लगानी रहेको छ। प्रमुख लगानीकर्ताहरूमा लाङटाङ इनभेस्टमेन्ट प्रालि र पाल्दोर इनभेस्टमेन्ट प्रालि दुवैको २१.४३ प्रतिशत हिस्सा रहेको छ। त्यस्तै, कविता लोहीयाको ९.५२ प्रतिशत, ओ पी होल्डिङ कम्पनी प्रालिको ९.५२ प्रतिशत, जगदम्बा इन्टरप्राइजेज प्रालिको ६.८६ प्रतिशत, रेमी क्यापफिन प्रालिको ६.१९ प्रतिशत र गोदावरी फिनकर्प प्रालिको ४.७६ प्रतिशत स्वामित्व रहेको छ । यीबाहेक अन्य लगानीकर्ताहरूको पनि आंशिक स्वामित्व रहेको कम्पनीले जनाएको छ।

कम्पनीले नजिकैको भविष्यमा सर्वसाधारणका लागि साधारण शेयर (आईपिओ) जारी गर्ने योजना बनाएको छ । आर्थिक वर्ष २०२५ मा लिबर्टीले करिब ११ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सोही अवधिसम्म कम्पनीको कुल सम्पत्ति करिब ७७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

छोटो समयमै ग्राहक विश्वास जित्दै बजारमा आफ्नो स्थान मजबुत बनाएको लिबर्टीले आगामी वर्षहरूमा अझ सन्तुलित र दिगो वृद्धि हासिल गर्ने अपेक्षा व्यक्त गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*