ग्रामीण बीमाको दायरा विस्तार गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, इक्राबाट पुनः ‘डबल बी’ मान्यता

२८ आश्विन २०८२, मंगलवार ०९:५९

धनगढी । इक्रा नेपालले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको जारीकर्ता रेटिङ इक्रा एनपी–आईआर ‘डबल बी’ पुनः कायम राखेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै चुक्ता गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। इक्राले जारी गरेको प्रतिवेदन अनुसार प्रोटेक्टिभले छोटो अवधिमै सन्तोषजनक प्रगति गरेको देखिएको छ। कम्पनीको स्वामित्व संरचना सुदृढ रहेको र पुँजी पर्याप्त भएकाले आगामी वर्षहरूमा यसले अझ सन्तुलित वित्तीय स्थिति कायम राख्ने अपेक्षा गरिएको छ।

कम्पनीले निकट भविष्यमा २२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ जसले यसको पूँजी आधारलाई अझ सुदृढ बनाउनेछ। हालको सानो सञ्चालन स्तरका बावजूद कम्पनीको सॉल्भेन्सी स्थिति सन्तोषजनक रहेको इक्रा नेपालको मूल्याङ्कन छ।

वित्तीय वर्ष २०८१/८२ मा कम्पनीको बीमा कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। सो अवधिमा कुल बीमा लेखा (ग्रस प्रिमियम) करिब २.८ गुणा बढेको छ। यो वृद्धि कम्पनीले देशभर शाखा तथा सेवा बिन्दु विस्तार गरेको कारण सम्भव भएको हो। अघिल्लो वर्ष २४ शाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले हाल ३३ वटा सञ्जाल बिन्दुबाट देशका विभिन्न भूभागमा बीमा सेवा पुर्‍याइरहेको छ।

छोटो समयमै व्यापक विस्तार हासिल गरेको कम्पनीले ग्रामीण तथा सुदूर क्षेत्रमा पनि बीमाको पहुँच बढाउने दिशामा काम गरिरहेको छ। यसले देशभरका साना व्यवसायी, किसान र श्रमिक वर्गबीच बीमा सचेतना विस्तार गर्न सहयोग पुगेको छ।

हाल कम्पनीको बीमा पोर्टफोलियोमा सवारी साधन बीमाको हिस्सा प्रमुख रहेको छ । यद्यपि, कम्पनीले पूँजी पर्याप्त रहेको कारणले जोखिम नियन्त्रण गर्न सक्ने क्षमता देखाएको छ।

नियमक निकायद्वारा साना बीमा उत्पादनहरूमा न्यूनतम प्रिमियम दरमा दिइएको छुटले कम्पनीलाई बजारमा प्रतिस्पर्धात्मक लाभ लिन मद्दत पुर्‍याउने विश्वास गरिएको छ। यससँगै प्रोटेक्टिभले ग्राहकमैत्री सेवा, सजिलो दाबी प्रक्रिया र ग्रामीण क्षेत्रमा पहुँच विस्तारजस्ता कार्यक्रममार्फत आफ्नो विश्वसनीयता बढाउँदै लगेको छ।

कम्पनी सन् २०२३ अप्रिलदेखि बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीको मुख्य कार्यालय कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ मा अवस्थित छ।

कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ पुगेको छ। उक्त पुँजीमध्ये सबैभन्दा ठूलो हिस्सेदारी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रहेको छ, जसको स्वामित्व २१ दशमलव ४३ प्रतिशत छ। सोही गरी मेट्रो क्यापिटल प्रालिको १५ दशमलव ३८ प्रतिशत, कुमुदकुमार दुगडको ६ दशमलव ६७ प्रतिशत, के.आर.एस. इन्भेष्टमेन्ट प्रालिको ६ दशमलव ६७ प्रतिशत, श्रद्धा अग्रवालको ४ दशमलव ५२ प्रतिशत, संगीता देवी मोरको ३ दशमलव ९७ प्रतिशत र अनुपम राठीको ३ दशमलव ३३ प्रतिशत हिस्सेदारी रहेको छ। बाँकी स्वामित्व अन्य केही लगानीकर्ताको नाममा छ।

छोटो समयमा स्थिर वृद्धि हासिल गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले पूँजी संरचना मजबुत बनाउँदै देशभर आफ्ना बीमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। कम्पनीले ग्रामीण र साना व्यवसायी समुदायमा बीमा पहुँच बढाउने उद्देश्यका साथ सेवा सञ्चालन गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*