गुडिरहेको बेला सडकमा नै जल्यो फोर्ड ब्रान्डको गाडी, गुणस्तरमाथि गम्भीर प्रश्न

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार दुर्घटना र आगजनीको घटनामा फस्दै आएको फोर्ड कम्पनीका सवारी साधन अब नेपालमा पनि उपभोक्ताका लागि जोखिमको प्रतीक बन्दै गएका छन् । गुणस्तरहीन निर्माण, सुरक्षात्मक कमजोरी र इन्जिनसम्बन्धी समस्याले गर्दा फोर्डका गाडीहरू नेपाली सडकमा पनि बारम्बार दुर्घटनामा परिरहेका हुन् ।
पछिल्लो घटना उदयपुरमा भएको आगजनीले फेरि एकपटक कम्पनीका गाडीमाथि गम्भीर प्रश्न उठाएको छ । सोमबार उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदनभण्डारी राजमार्गमा दिउँसो गुडिरहेको फोर्ड फिगो कार एक्कासी आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो । इलामको चुलाचुली गाउँपालिका–५ निवासी ४२ वर्षीय प्रेम सेन्चुरी उक्त गाडी चलाइरहेका थिए । उनी श्रीमती २७ वर्षीया अनिता सेन्चुरी र छोरा १४ वर्षीय आयुष सेन्चुरीसहित काठमाडौँतर्फ यात्रा गर्दै थिए । गाडीमा अचानक आगो लागेपछि उनीहरूले समयमै बाहिर निस्कन सफल भएका थिए भने उनका सात वर्षीय कान्छा छोरा आरोन सेन्चुरी सामान्य घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी उदयपुर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घटनापछि चालक प्रेम सेन्चुरीले गाडी एकदमै सामान्य अवस्थामा गुडिरहेको बेला आगो निस्किएको बताएका थिए।
यो कुनै एक्लो घटना होइन । पछिल्ला वर्षमा नेपालमा फोर्ड कम्पनीका गाडीहरू पटक–पटक दुर्घटनामा परिरहेका छन् । राजधानी काठमाडौँमा मात्रै फोर्डका सवारी साधनहरूसँग सम्बन्धित अनेक घटना भएका छन् । केही समयअघि धोबिखोलामा एउटा फोर्ड गाडी सडकबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । उक्त घटनामा गाडीका चालकले निर्माण दोषका कारण ब्रेक प्रणालीले काम नगरेको बताएका थिए । त्यस्तै, मातातिर्थको उकालोमा अर्को फोर्ड गाडी ब्याक भएर दुर्घटनामा पर्दा एक चिकित्सक परिवार शोकमा परेको थियो । ती घटनापछि पनि कम्पनीले सुरक्षासम्बन्धी समस्या समाधानका लागि ठोस कदम नचालेको उपभोक्ताहरूको आरोप छ ।
गाडीका इन्जिन तात्ने, तार सर्ट हुने, इलेक्ट्रिक कनेक्शनमा त्रुटि देखिने र सुरक्षात्मक प्रणालीले अपेक्षित रूपमा काम नगर्ने समस्या दोहोरिँदै आएका छन् । एयरब्याग, एबीएस ब्रेक र ट्र्याक्सन कन्ट्रोलजस्ता अत्यावश्यक फिचरहरूले समयमै सक्रियता नदेखाउँदा धेरै दुर्घटनाहरूमा ठूलो क्षति हुन पुगेको छ । यसले कम्पनीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
नेपालमा फोर्ड कम्पनीका गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि हो । तर उपभोक्तामाझ असन्तुष्टि बढ्दो छ । धेरै ग्राहकहरूले गाडी किन्ने केही महिनामै प्राविधिक समस्या देखा परेको गुनासो गरेका छन् । सेवा केन्द्रले वारेन्टी अवधिभित्र पनि पर्याप्त सुधार नगरेको भन्दै केही उपभोक्ताले कम्पनीमाथि असन्तोष प्रकट गरेका छन् ।

फोर्ड कम्पनी विश्वका विभिन्न देशमा पनि गुणस्तरसम्बन्धी समस्याका कारण आलोचनामा छ । सन् २०२५ मा मात्रै कम्पनीले विभिन्न मोडेलका गाडीहरू १०४ पटक फिर्ता बोलाएको तथ्य सार्वजनिक भएको छ । ती रिकलका कारण करिब २० लाख गाडी प्रभावित भएका छन् । अमेरिकादेखि युरोप र एसियाली बजारसम्म कम्पनीका उत्पादनहरूमा इन्जिन, इन्धन आपूर्ति प्रणाली र विद्युत सर्किटसम्बन्धी समस्या फेला परेपछि उपभोक्तामाझ कम्पनीको छवि कमजोर बन्दै गएको छ ।
फोर्डका गाडीहरूमा बारम्बार आगलागीका घटना देखिनुले यसको निर्माण प्रणाली नै शंकास्पद रहेको देखिन्छ । फोर्ड कम्पनीका सवारी साधन विश्वव्यापी रूपमा लोकप्रिय मानिए पनि पछिल्लो समय यसको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । केही वर्षअघि अमेरिकामा पनि हजारौँ फोर्ड कारमा इन्जिन फायरको समस्या देखिएपछि कम्पनीले आकस्मिक रूपमा ती गाडीहरू फिर्ता बोलाएको थियो । त्यस्तै, भारतमा समेत फोर्डका इकोस्पोर्ट र फिगो मोडेलका हजारौँ गाडीहरू इन्धन पाइपलाइनमा समस्या देखिएपछि फिर्ता गर्नुपरेको थियो ।

अटो बजारमा अहिले प्रतिस्पर्धा तीव्र छ । हुन्डाई, टाटा, सुजुकी र निसानजस्ता ब्रान्डहरूले गुणस्तर र सेवा सुधारमा निरन्तर लगानी गर्दै गर्दा फोर्डले आफ्नो बजार हिस्सेदारी गुमाउँदै गएको देखिन्छ ।













