बीमा कम्पनीमा साढे १२ हजार कर्मचारी कार्यरतः ४९.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा, कस्तो छ समग्र अवस्था ?

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल करिव साढे १२ हजार मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले पनि आम नागरिकहरु बीमाको रोजगारीप्रति आकर्षित बन्दै गएका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका कुल ३७ वटा बीमा कम्पनीहरुमा कुल १२ हजार ३१८ जना कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत रही आम नागरिकहरुलाई बीमा सेवा प्रदान गरीरहेका छन् । जसमा जीवन बीमा कम्पनीमा ६ हजार ६५ जना र निर्जीवन बीमा कम्पनीमा ६ हजार २५३ जना कर्मचारी कार्यरत रहेका छन् ।
पछिल्लो केही वर्षयता नेपालमा बीमाको दायरा बढ्दै गएको छ । सरकार र नियमनकारी निकाय बीमा प्राधिकरणले देशैभरीका स्थानीय तहहरुमा बीमा सचेतना कार्याक्रम सञ्चालन तथा शैक्षिक जनचेतना बृद्धि भएसँगै बीमाको दायरा बढ्दै गएको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा बीमाको दायरामा आएको (म्यादी र लघु म्यादी जीवन बीमासहित) को जनसंख्या सामान्य अंकले बढेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ४२.९२ प्रतिशत रहेको थियो भने समीक्षा अवधिमा बीमाको दायरामा आएको जनसंख्या सामान्य अंकले बृद्धि भएर ४९.१९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नेपालमा कुल एक करोेड ५९ लाख ३६ हजार सक्रिय बीमालेख रहेका छन् । चालु आवको भदौ मसान्तमा जीवन बीमालेखको संख्या ११ लाख ९८ हजार रहेका छन् । साथै यस अवधिमा कुल निर्जीवन बीमालेख चार लाख ९० हजार रहेका छन् ।
यस अवधिसम्म नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ९९ करोड रुपैयाँ, जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन २८ अर्ब ७२ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ८ अर्ब २९ करोड रहेको छ ।
बीमा कम्पनीहरुका शाखा संस्था घटेका छन् । चालु आवको भदौ मसान्तसम्मको अवधिमा नेपालमा कुल दुई हजार ९८९ वटा प्रादेशिक–शाखा–उपशाखाहरुको संख्या रहेको छ । जसमा जीवन बीमा कम्पनीका १ हजार ८३४ वटा र निर्जीवन बीमा कम्पनीका १ हजार १५५ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
सरकार र सरकारी निकायहरुले समेत बीमालाई प्राथमिकताका साथ राखेको पाइन्छ । देशमा भएको आर्थिक, शैक्षिक तथा वित्तीय जनचेतना बढेसँगै नागरिकहरुले जीवन तथा निर्जीवन बीमा गर्दै आएका छन् । सरकारले सवारी साधनमा अनिवार्य बीमा गर्ने बाध्यकारी नियम ल्याएको कारणले पनि बीमाको दायरा बृद्धिमा टेवा पुगेको सरोकारवाला बताउछन् ।













