सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा २३ कार्यदिनमा सवा अर्ब बीमा दावी भुक्तानी, जेन जी पीडितहरुले पाए राहत

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले बीमा गरेपछि दावी पनि हातहातै दिन्छन् भन्ने तथ्य स्थापित गर्न सफल भएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले जेन जी आन्दोलनमा क्षति पुगेका पीडितहरुलाई २३ कार्यदिनभित्रैमा सवा अर्ब रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीले २३ कार्यदिनमै सो दावी भुक्तानी गरेर आफूलाई देशकै उत्कृष्ट बीमा दावी भुक्तानी गर्न सक्षम कम्पनीको रुपमा स्थापित गराउन सफल भएको छ । जेन जी आन्दोलनपछि लगाइएको कर्फ्यु र दशैं बिदामा समेत कम्पनका कर्मचारीहरुले कडा मेहनत गरेर सर्वाधिक बीमा दावी भुक्तानी गर्ने कम्पनी बन्न सफल भएको हो ।
कम्पनीका अनुसार आज अपरान्हसम्ममा अग्रिम भुक्तानी र अन्तिम भुक्तानी समेत गरी कूल एक अर्ब २६ करोड रुपैयाँ दावी भुक्तानी हस्तान्तरण भइसकेको छ । उक्त दावी भुक्तानी पश्चात जेन जी आन्दोलनबाट पीडित भएका उद्यमी व्यवसायीहरुले ठूलो राहत प्राप्त गर्न सफल भएका छन् ।
२०८२ साल भाद्र २३ र २४ गते आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण यस कम्पनीमा वीमा रहेका व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्ती तथा उद्योग व्यवसायमा पुगेको क्षतीको बीमा दावी फछर््यौट कार्यलाई अत्यन्त महत्वका साथ सम्पन्न गर्दै आएका र अग्रिम भुक्तानीलाई तीव्रता दिँदै आज सम्म सवा अर्ब रुपैयाँ भुक्तानी गर्न पाउँदा गौरव अनुभूति गरिएको सिईओ बीरेन्द्र बैदवार क्षेत्रीले बीमापोष्टलाई जानकारी दिए ।
उक्त आन्दोलनका क्रममा भएको क्षतीको ३५७ वटा बीमा पोलिसी अन्तर्गत पाँच अर्व ४९ करोडको प्रारम्भिक बीमा दावी परेको कम्पनीले जनाएको छ । सो मध्ये हालसम्म १०५ वटा पूर्ण तथा अग्रिम भुक्तानी वापत एक अर्व २६ करोड भन्दा बढी दावी भुक्तानी गरिएको सिईओ क्षेत्रीले जानकारी दिए ।
यस पटक जेन जी आन्दोलनका क्रममा भएका क्षतिहरुको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले उच्च प्राथमिकता दिएर काम गरिरहेका छन् । कूल २३ अर्ब बीमा दावी परेकोमा हालसम्म दुई अर्ब एक करोड ९८ लाख रुपैयाँ बीमितहरुले प्राप्त गरिसकेका छन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आन्दोलनमा क्षति भएका पीडितहरुलाई हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत सो दावी भुक्तानी गरेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २०८१ साल आश्विन महिनामा वाढीबाट भएको क्षतीलार्ई सहज रुपमा व्यवस्थापन गरी आफ्नो कर्तव्य तथा दायित्वलाई इमान्दारी पूर्वक निर्वाह गरेको थियो ।
बीमा दावी भुक्तानीमा कुनै सम्झौता नगरी नगदमा बीमा शुल्क र नगदमै बीमा दावी भुक्तानी भन्ने मूल मर्मलाई आत्मसात गर्दै सरल बीमा सेवा प्रवाह गर्दै आएको सिईओ क्षेत्रीले बताए ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रतिकुल परिस्थितिमा पनि हामी सधैँ विमितको साथमा रहने विमितको आकांक्षा अनुरुप सेवा प्रवाह गर्न निरन्तर लागि परेको हुदा, बीमितको क्षती भएको सम्पत्तीको बीमा दावी फछ्र्यौट गरी बीमितहरुको आर्थिक क्षतीको पुनःस्थापना गर्न कम्पनी प्रतिवद्ध रहेको जनाएको छ ।
कम्पनीले बीमा दावी भुक्तानी लिन बाँकी बीमितहरुलाई यथाशीघ्र आवश्यक कागजात पेश गरी दावी फछ्र्यौट कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।













