अमेरिकी दवाव भन्दै गृहमन्त्री अर्यालविरुद्ध षडयन्त्रको प्रयास

काठमाडौं । जनताले गरेको आन्दोलनको राप र तापले निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट ज्यान जोगाएर भाग्नुपर्ने अवस्था उत्पन्न भई रिक्त अवस्थामा देशको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालका विरुद्धमा अध्यारो कुनाबाट षडयन्त्रका तानाबाना बुन्ने कार्य सुरु भएको छ ।
जेनजी पुस्ताले गरेको आन्दोलनको कारण निर्वाचित सत्ता ज्यान जोगाउनै मुश्किल परेर भागभागको अवस्थापछि ७२ घण्टासम्म देश नेतृत्व विहिन हुन पुग्यो । नेतृत्व विहिन हुन पुगेको अवस्थामा सर्वमान्य र जनताले पत्याएको पात्रलाई खोजी गरेर सरकारको नेतृत्व जिम्मा दिन नेपाली सेनाले पहल सुरु गर्यो । सोही प्रक्रियाबाट सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेर देशलाई अघि बढाउने जिम्मेवारी सुम्पिए ।
खरो स्वभाव, गलत मनसाय र नियत राखेर काम नगरेको स्वच्छ छवि भएकी सुशिला कार्की प्रधानमन्त्री त नियुक्त भईन, अब मन्त्री चाहियो, काम गर्न नयाँ टिम चाहियो । कुनै पनि राजनीतिक दलमा आबद्ध नभएकोले नयाँ टिम बनाउने क्रममा प्रम कार्कीले गृहमन्त्रीको रुपमा कानुन, परिचालन बुझेको तथा अध्ययनशिल र मेहनत गर्न सक्ने व्यक्तिको रुपमा ओम प्रकाश अर्यालमाथि कार्कीको नजर पर्यो । गृहमन्त्री भएर निहुरिएको प्रहरीको मनोबल उकास्न प्रयत्नशिल रहेकै अवस्थामा अहिले गृहमन्त्री अर्याललाई हटाउने खेल भइरहेको छ ।
आफ्ना निहित स्वार्थ पुरा गर्न चाहने तत्वहरुले अमेरिकी दवाव सिर्जना गर्दै गृहमन्त्रीको रुपमा पूर्व प्रहरी अधिकृतहर रमेश खरेल, काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डे आदिको नाम चर्चामा ल्याएका छन् । अपराध, तस्करीमा संलग्न हुने विभिन्न तत्वहरुले अमेरिकी, सिआईएले मन नपाएको भन्दै गृहमन्त्री फेर्न लागेको भन्दै हल्ला चलाइरहेका छन् ।
उल्लेखित हल्लाहरुभित्र गृहमन्त्री फेर्ने मनसाय नभई भर्खरै उठ्दै गरेको प्रहरीको मनोबल माथि उठ्न नदिने र आफ्नो स्वार्थ सिद्ध गर्न चाहने तत्वहरुले चलखेल गरिरहेका छन् ।
नेपालमा अहिले अमेरिका र सिआईएको नाममा जुन खालको राजनीति भइरहेको छ, त्यो पेन्टागन वा जर्ज बुश सेन्टर फर इन्टेलिजेन्स, लाङ्ले भर्जिनियाबाट भएको नभई नेपालमा रहेका विगतमा सिआईएबाट पैसा खाने एजेन्टहरुले मात्रै हल्ला चलाएको देखिन आएको छ ।
अमेरिका सधैं कानुनी राज्य र पूर्ण प्रजातन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्र हो । त्यस्तो देशले आन्दोलनबाट खस्किएको कानुनी राज्यलाई पुनर्जीवित गर्दै गरेको गृहमन्त्रीलाई फेर्न दवाव दिन सक्दैन, एक अमेरिका निकट कुटनीतिज्ञले बीमापोष्टसँग भने ।
अमेरिकी एजेन्टको नाममा विभिन्न तत्वहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृहमन्त्रीलाई असफल देखाएर फाइदा लिन खोजिरहेको छ । साथै गृहमन्त्री अर्याललाई अनावश्यक विवाद जस्तो देखाएर भ्रष्टाचार, जनदमनका दोषीहरुमाथि कारवाही गर्नबाट रोक्न खोजिरहेको देखिन आएको छ ।
त्यसो त, प्रधानमन्त्री कार्यालयले औपचारिक रुपमा कसैको दवावमा गृहमन्त्री नफेरिने स्पष्ट पारिसकेको छ । भर्खर बनाएको नयाँ टिमले नतिजामुखी काम गर्नै नपाई गृहमन्त्री फेर्न प्रम कार्की तयार छैनन् भने अर्कोतिर पर्दा पछाडि बसेर खेल्ने र देशलाई बर्वादीमा धकेल्ने तत्वहरुको योजनाबारे प्रम कार्की राम्रै जानकार रहेको बताइन्छ ।
अहिले गृहमन्त्रीका विरुद्धमा मात्रै नभई प्रधानमन्त्री कार्कीका विरुद्धमा समेत अनेकन प्रहारहरु भइरहेका छन् । जेनजीको नाममा खोलामा माछा टिप्नेहरुको भिड लागे झै असन्तुष्ट समुहहरुसँग अनावश्यक डिल गर्नु बाध्यता बनिरहेको छ । राजनीतिक दलहरुले आफ्नो स्वार्थ पुरा गर्न जेनजीको नाममा विभिन्न समुहहरु परिचालन गरिरहेका छन् भने विभिन्न एनजिओ र आईएनजिओहरुले गरेको लगानीका कारण समेत त्यस्तो भइरहेको छ ।
प्रधानमन्त्री सुशिला कार्की निर्वाचित प्रधानमन्त्री पनि होइनन् र रहरले प्रधानमन्त्री बन्न गएकी पनि होइनन् । संसदवादी दलका नेताहरु देश छोडेर भाग्ने अवस्था आएपछि नेतृत्व विहिन बन्न पुगेको देशलाई अगाडि बनाउन बाध्यकारी अवस्थामा प्रधानमन्त्री बन्न गएको यथार्थलाई भुलेर विभिन्न समुहहरुले माग तेस्र्याउने, दवाव दिने, धम्क्याउने कार्य गर्नु राष्ट्रघाती कार्य हो भन्ने कुरा सबैले बुझ्ने पो हो कि !













