श्री स्टील प्रति ग्राहकको विश्वास गुम्दै: व्यापार घटेर ५ अर्बमा सीमित, पूँजीभन्दा ४ गुणा बढी ऋण

१४ कार्तिक २०८२, शुक्रबार १२:४०

काठमाडौँ । प्रमुख चारवटा व्यापारिक घरानाको लगानी रहेको श्री स्टील उद्योग पछिल्ला वर्षहरूमा गम्भीर संकटमा परेको छ । कुनै समय नेपाली स्टील बजारमा बलियो उपस्थिति बनाउँदै गएको उद्योग अहिले भने निरन्तर धरापमा परेको देखिएको हो । कम्पनीमा सिद्धार्थ समूहको ४० प्रतिशत, केडिया समूहको २० प्रतिशत, मुराका समूहको २० प्रतिशत र जगदम्बा इन्भेस्टमेन्टको २० प्रतिशत लगानी रहेको छ ।

सन् २०१६ मा स्थापना भएको श्री स्टील उद्योगले सुरुवाती वर्षहरूमा तीव्र व्यापारिक वृद्धिको अनुभव गरे पनि पछिल्लो पाँच वर्षमा यसको कारोबार झनझन घट्दै गएको छ । सन् २०२१ मा कम्पनीले ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गर्न सफल भए पनि सन् २०२५ सम्म आइपुग्दा व्यापार घटेर ५ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । यसबीचमा कम्पनीको कारोबारमा करिब २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको गिरावट आएको छ ।

सन् २०२१ देखि २०२५ सम्मको अवधिभर कम्पनीको कुल बिक्री आम्दानीको करिब ९० देखि ९५ प्रतिशत हिस्सा केवल टीएमटी बारबाट आएको छ, जसले कम्पनीको सम्पूर्ण व्यवसाय एकै प्रकारको उत्पादनमा निर्भर रहेको देखिएको छ । यसले बजारमा माग घट्दा वा प्रतिस्पर्धा बढ्दा कम्पनीलाई ठूलो घाटा हुने सम्भावना बढाउँछ ।

कोभिड–१९ महामारी र मन्दिका वर्षहरूमा पनि उल्लेख्य व्यापार गर्न सफल रहेको यो कम्पनी पछिल्ला वर्षमा भने, प्रतिस्पर्धा र व्यवस्थापन समस्याले थिचिएको छ । सन् २०२२ मा कम्पनीले ६ अर्ब १३ करोड रुपैयाँको व्यापार गरे पनि त्यसपछि व्यवसायिक गति पुनः सुस्त बन्दै गयो । सन् २०२३ मा ७ अर्ब ४ करोड रुपैयाँमा पुगेको कारोबार सन् २०२४ मा घटेर ४ अर्ब ९९ करोड रुपैयाँमा झ-यो ।

बजारमा नयाँ स्टील उत्पादनकर्ताहरूले गुणस्तर, मूल्य र वितरण प्रणालीमा सुधार ल्याउँदै गर्दा श्री स्टील उद्योग त्यससँग प्रतिस्पर्धा गर्न असमर्थ देखिएको छ । गुणस्तरका हिसाबले अन्य ब्रान्डले बजारमा विश्वास जितिरहेका बेला श्री स्टीलको उत्पादन भने ग्राहकको रोजाइमा पर्दै गएको छैन । ग्राहकहरूले गुणस्तरका कारण अन्य स्टील रोज्न थालेपछि श्री स्टीलको बिक्री दर घट्दै गएको हो ।

कम्पनीसँग १ लाख ५० हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेको भए पनि मागमा आएको गिरावटका कारण उत्पादन पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । उद्योग स्रोतका अनुसार अहिले उत्पादन र बिक्री दुबै घटेका छन्, जसका कारण सञ्चालन खर्चसमेत उठाउन कठिनाइ भएको छ ।

कम्पनीको पूँजी (शुद्ध सम्पत्ति) भन्दा ऋणको अनुपात निकै उच्च छ । सन् २०२१ मा कम्पनीको ऋण पूँजीभन्दा करिब ५.९ गुणा थियो । त्यसपछि सन् २०२२ मा ४.२ गुणा, सन् २०२३ मा ३.८ गुणा, सन् २०२४ मा पुनः बढेर ५ गुणा पुगेको र सन् २०२५ को अनुमानमा पनि अझै ३.८ गुणा रहेको छ ।

कम्पनीको सञ्चालन नाफा (अर्थात् ओपरेटिङ नाफा) र व्याज तिर्ने क्षमतामा पनि निरन्तर गिरावट आएको छ । सन् २०२१ मा कम्पनीको ब्याज तिर्ने अनुपात २.१ गुणा थियो भने सन् २०२२ मा यो घटेर ०.६ गुणा मात्र भयो । सन् २०२४ मा पनि कम्पनीको ब्याज तिर्ने क्षमता १.१ गुणामा सीमित रह्यो ।

त्यस्तै, कम्पनीको ऋण तिर्ने क्षमताको अर्को सूचक ‘ऋण सेवा आवरण अनुपात (डीएससीआर)’ पनि कमजोर देखिन्छ । सन् २०२१ मा १.७ गुणा रहेको यो सूचक सन् २०२२ मा घटेर ०.८ गुणा मात्र रह्यो । सन् २०२४ सम्म पनि यो स्तर सुधार हुन सकेको छैन । श्री स्टील उद्योगको सञ्चालन नाफा अनुपात (ओपीबीडीटा/राजस्व) पनि कमजोर भएको छ । सन् २०२१ मा ४.४ प्रतिशत नाफा कमाउने कम्पनी सन् २०२२ मा २.३ प्रतिशतमा झ-यो । यद्यपि, सन् २०२३ पछि यो अनुपात ८.६ प्रतिशत र सन् २०२४ मा १०.२ प्रतिशत पुगेको भए पनि समग्र व्यापार घटेकाले वास्तविक नाफा उल्लेख्य हुन सकेको छैन ।

नेपालको स्टील बजारमा हाल घरेलु र विदेशी ब्रान्डबीच तीव्र प्रतिस्पर्धा छ । यस्तोमा श्री स्टील उद्योगले आफ्ना उत्पादनमा नवीनता, गुणस्तर र वितरण सञ्जालमा सुधार नगर्दा बजारमा टिक्न सकस परेको छ ।

उद्योगको सञ्चालन खर्च, ब्याज तिर्ने दबाब र घट्दो बिक्रीबीच कम्पनी अझ संकटमा फस्ने सम्भावना बढेको छ । पूँजीभन्दा धेरै गुणा ऋण र कमजोर नाफा अनुपातले कम्पनीलाई बैंक तथा वित्तीय संस्थाबाट थप ऋण पाउन पनि कठिन बनाएको छ ।

श्री स्टील्स लिमिटेडको दीर्घकालीन ऋणको मूल्याङ्कन सुधार गरिएको छ भने अल्पकालीन ऋणको मूल्याङ्कन यथावत् राखिएको छ । नेपाल क्रेडिट रेटिङ संस्था ‘इक्रा नेपाल’ले कम्पनीको दीर्घकालीन ऋण सिमाको मूल्याङ्कन पहिलेको ‘एल बी प्लस’ स्तरबाट सुधार गरी ‘एल डबल बी माइनस’ मा उन्नति गरेको हो । साथै, कम्पनीको अल्पकालीन ऋण सिमाको मूल्याङ्कन भने ‘ए फोर’ स्तरमा कायम राखिएको छ ।

कुल ५ अर्ब ७८ करोड ६९ लाख ६० हजार रुपैयाँ बराबरको ऋण सिमामा आधारित मूल्याङ्कनमा, दीर्घकालीन ऋण सिमा १ अर्ब ३३ करोड ८२ लाख ३० हजार र अल्पकालीन ऋण सिमा ४ अर्ब ४४ करोड ८७ लाख ३० हजार रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*