बीवाईडीलाई ठूलाे झट्का: डिजाइन र ब्याट्री जोखिमले गर्दा १ लाख १५ हजार सवारी फिर्ता

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन उत्पादक कम्पनी बीवाईडीले करिब १ लाख १५ हजारभन्दा बढी सवारी फिर्ता गर्ने भएको छ । चीनको बजार नियामक निकायले जानकारी दिँदै सवारीमा भेटिएका विभिन्न डिजाइन त्रुटि तथा ब्याट्री सम्बन्धी सुरक्षा जोखिमका कारण फिर्ता प्रक्रिया अघि बढाइएको हो ।
कम्पनीले सन् २०१५ मार्चदेखि २०१७ जुलाई बीच उत्पादन भएका ४४ हजार ५३५ वटा ट्याङ्ग सिरिजका सवारी फिर्ता गर्ने योजना दर्ता गरेको छ । यी सवारीमा रहेका केही कम्पोनेन्टको डिजाइन त्रुटिका कारण असामान्य कार्य सम्पादन हुने र यसले सुरक्षा जोखिम निम्त्याउने सम्भावना रहेको नियामकको भनाइ छ ।
यस्तै, सन् २०२१ फेब्रुअरीदेखि २०२२ अगष्ट सम्म उत्पादन भएका ७१ हजार २४८ वटा युआन प्रो विद्युतीय सवारी पनि फिर्ता गर्न बीवाईडीले प्रस्ताव गरेको छ । ती सवारीमा ब्याट्री जडानसम्बन्धी उत्पादन त्रुटि देखिएको र यसले आगलागीसहितको सुरक्षा जोखिम बढाएको जनाइएको छ ।
यसअघि पनि बीवाईडीले बारम्बार फिर्ता प्रक्रिया सञ्चालन गरेको थियो ।
-सन् २०२४ जनवरीमा कम्पनीले ६ हजार ८४३ वटा फाङ्चेङबाओ बाओ ५ प्लग–इन हाइब्रिड अफ–रोड सवारी फिर्ता गरेको थियो, जसमा आगलागीको जोखिम रहेको पाइएको थियो ।
-सन् २०२४ सेप्टेम्बरमा भने कम्पनीले ९७ हजार डल्फिन र युआन प्लस मोडेलका विद्युतीय सवारी फिर्ता गरेको थियो, जसमा स्टीयरिङ नियन्त्रण उपकरणको उत्पादन त्रुटिका कारण सुरक्षा खतरा देखिएको थियो ।
लगातार फिर्ता भइरहेका घटनाले बीवाईडीका सवारीमा सुरक्षासम्बन्धी कमजोरी दोहोरिन थालेको विश्लेषणहरू भइरहेको छ ।
बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय













