जीवन बीमकको नविकरण बीमा शुल्क ३९ अर्ब ६८ करोड: राष्ट्रिय जीवन बीमा र सिटिजन आक्रामक

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८२ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको १४ कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नविकरण बीमा शुल्क आर्जन २०.५५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्ममा ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
जीवन बीमामा आम बीमितहरुले लिएका बीमा पोलिसीहरुको वार्षिक तथा अर्धवार्षिक रुपमा नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था र बीमा पोलिसीको शर्तको आधारमा पोलिसी लिएका बीमितहरुले तोकिएको शुल्क बुझाएर आफ्नो पोलिसी नविकरण गरेको हुनुपर्ने हुन्छ ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल र एलआइसी नेपालको नबिकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी रहेको छ । साथै, राष्ट्रीय जीवन बीमा, सिटिजन लाइफ, सुर्यज्योति लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन सवाधिक प्रतिशतले बढेको छ ।
साथै, तीन महिनाको अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ३०१.७७ प्रतिशतले बढेर ४ अर्ब ७ करोड बढेको छ । सिटिजन लाइफको २५.५५ प्रतिशतले बढेर १ अर्ब ५८ करोड, सूर्यज्योति लाइफको २१.९२ प्रतिशतले बढेर २ अर्ब २६ करोड र सन नेपाल लाइफको २१.५५ प्रतिशतले बढेर ७५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
सबैभन्दा बढी नविकरण बीमा शुल्क आर्जन गर्ने नेपाल लाइफले तीन महिनामा १० अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको छ । साथै, नेशनल लाइफले नविकरण बीमा शुल्क ४ अर्ब ३६ करोड, एलआईसी नेपालले ४ अर्ब ३० करोड, हिमालयन लाइफको ३ अर्ब ८८ करोड, एशियन लाइफले १ अर्ब ८१ करोड र सानिमा रिलायन्स १ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ ।
यता, मेट लाइफले १ अर्ब २८ करोड, आइएमई लाइफले १ अर्ब ९ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८ करोड र रिलायबल नेपालले १ अर्ब ४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।













