रिलायबल नेपाल लाइफको ‘लाइफ चेन्जिङ प्रोग्राम–२’ सम्पन्न

२५ कार्तिक २०८२, मंगलवार ०८:१५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेशले आत्मविकास, मनोवृत्ति रूपान्तरण र पेशागत उत्कृष्टता लक्षित ‘लाइफ चेन्जिङ प्रोग्राम–२ (च्याम्पियन्स जर्नी एण्ड माइन्डसेट मास्टरी प्रोग्राम)’ पोखराको साराङकोटस्थित हिमालयन फ्रन्ट रिसोर्टमा सम्पन्न गरेको छ। दुईदिने यस कार्यक्रममा करिब ७० जना अभिकर्ता र कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख सरोज अधिकारीले जीवनमा हरेक सफलता मनोवृत्तिबाट शुरु हुने भन्दै रिलायबलका एजेन्ट र कर्मचारीहरूको प्रतिबद्धता नै कम्पनीको वास्तविक पूँजी भएको उल्लेख गरे। त्यसैगरी बिक्री विभाग प्रमुख शैलेन्द्र श्रेष्ठले ग्राहक सेवा, टोली मार्गदर्शन र बीमा ऐनबारे सत्र सञ्चालन गर्दै बीमा व्यवसाय विश्वास निर्माण र जिम्मेवारी पूरा गर्ने कला भएको बताए।

कार्यक्रमका प्रमुख आकर्षणका रूपमा प्रसिद्ध प्रेरणादायी वक्ता तथा कर्पोरेट प्रशिक्षक राजा बाबु शाहले ‘रिडिजाइन योर भिजन एण्ड एचिभ योर गोल’ र ‘माइन्डसेट मास्टरी’ विषयमा सत्र सञ्चालन गर्दै सहभागीहरूलाई सोच परिवर्तनमार्फत जीवनको दिशा परिवर्तन गर्न प्रेरित गरे। सहभागीहरूले समूहगत रूपमा आफ्नो भिजन तयार गर्दै लक्ष्य निर्धारण र व्यावहारिक रणनीति प्रस्तुत गरे। अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई प्रशंसा–पत्र र पुरस्कार प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो।

कम्पनीका अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा व्यवसायसँगै आफ्ना कर्मचारी र एजेन्टहरूको आत्मबल, नेतृत्व क्षमता र व्यावसायिक सीप विकासमा निरन्तर लगानी गर्दै आएको छ। गत वर्ष भदौमा सम्पन्न ‘लाइफ चेन्जिङ कार्यक्रम–१’ को सफलतापछि दोस्रो संस्करणले अझ सकारात्मक प्रभाव पारेको भन्दै कम्पनीले आगामी वर्षहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्ने योजना बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*