लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री हुन छोडेपछि संकटमा बजार, अम्बे मोबाइलको व्यापार ३२ करोडले घट्यो

२६ कार्तिक २०८२, बुधबार ११:५३

काठमाडौँ । नेपाली बजारमा लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री गर्ने अम्बे मोबाइलको व्यापार निरन्तर घट्दै गएको छ । उपभोक्ताले कम्पनीका उत्पादनप्रति चासो देखाउन छोडेपछि अम्बे मोबाइलको बिक्री खुम्चिदै गएको हो ।

सन् २०२४/२५ मा कम्पनीले ८६ करोड ४० लाख रुपैयाँको अपरिष्कृत व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा यो रकम ३२ करोड ७० लाख अर्थात् २७ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष २०२३/०२४ मा कम्पनीले एक अर्ब १९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । लगातार तीन वर्षदेखि बिक्रीमा आएको गिरावटले कम्पनीको बजारस्थिति कमजोर बन्दै गएको स्पष्ट भएको छ ।

सन् २०२१/२२ मा कम्पनीले एक अर्ब ३४ करोड २० लाख र सन् २०२२/२३ मा एक अर्ब ३४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर त्यसपछि कम्पनीको कारोबार घट्दै गएको छ । बिक्रीमा आएको यो गिरावट कम्पनीका लागि चिन्ताको विषय बनेको छ ।

अम्बे मोबाइलको व्यापार मुख्यतः लाभा ब्रान्डमा निर्भर रहेको छ । लाभा ब्रान्डकै मोबाइल बिक्री घट्दै गएपछि कम्पनीको समग्र कारोबारमा नकारात्मक प्रभाव परेको हो । गत आर्थिक वर्षमा बेन्को ब्रान्डका मोबाइलको आपूर्ति सिमित भएको कारण व्यापार झनै कमजोर बनेको छ । बेन्को ब्रान्डको कारोबार ५१ प्रतिशतले घटेको छ भने लाभा ब्रान्डको कारोबार पनि ६ प्रतिशतले घटेको उल्लेख छ ।

स्मार्टफोन बजारमा तीव्र प्रतिस्पर्धा बढ्नु, उपभोक्ताको रोजाइ परिवर्तन हुनु र कम्पनीका उत्पादनहरू प्रविधिगत रूपमा अप्रासंगिक बन्नुजस्ता कारणले अम्बे मोबाइल्सको बजार संकुचित हुँदै गएको हो । श्याओमी, सामसङ, भिभो, रियलमी जस्ता ब्रान्डहरूले बजारमा बलियो स्थान ओगटेका छन् । यी कम्पनीहरूले १० हजार रुपैयाँभन्दा माथिका मिड–रेञ्ज र हाई–प्राइस सेग्मेन्टका ग्राहकहरूलाई लक्षित गर्दै अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन बजारमा ल्याइरहेका छन् ।

त्यस्तै, ८ हजार रुपैयाँ हाराहारीमा पर्ने फोन र फिचर फोनको सेग्मेन्टमा पनि तीव्र प्रतिस्पर्धा छ । बजारमा नयाँ ब्रान्ड र मोडलहरूको प्रवेशले लाभा र बेन्कोका उत्पादनहरू उपभोक्ताको नजरमा आकर्षक देखिन छोडेका छन् । नेपाली ग्राहकहरू अब नयाँ प्रविधि, उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन रोजिरहेका छन्, जसमा अम्बे मोबाइल्सका उत्पादनहरू पछाडि परेका छन् ।

यसै कारण कम्पनीको नाफा पनि अस्थिर रहँदै आएको छ । पछिल्ला तीन वर्षमा सञ्चालन नाफा मार्जिन करिब २.९ प्रतिशतदेखि ४.६ प्रतिशतबीच उतारचढावमा रहेको छ । बिक्री घट्दै जाँदा कम्पनीको लाभप्रदता थप कमजोर बन्न पुगेको छ ।

ग्राहक अनुभवका दृष्टिले पनि कम्पनीका उत्पादनहरू विशेष रूपमा आलोचनाको सामना गरिरहेका छन् । बेन्को मोबाइलका प्रयोगकर्ताहरूले चार्ज नहुने, अनुप्रयोग चल्दा अकस्मात बन्द हुने वा पर्दा फुट्नेजस्ता समस्या बारम्बार भोग्नुपर्ने अनुभव साझा गरेका छन् । यस्तो अवस्थामा कम्पनीको ग्राहक सहायता प्रणाली पर्याप्त प्रभावकारी नभएको भन्ने धारणा बजारमा फैलिएको छ ।

कम्पनीले वारन्टी सुविधा र सेवा सञ्जाल रहेको दाबी गरे पनि उपभोक्ताहरूले सेवा लिन सहजता नपाएको गुनासो सार्वजनिक भएका छन् । धेरै प्रयोगकर्ताहरूले मोबाइल मर्मतमा ढिलाइ, स्पेयर पाट्र्सको अभाव र सेवा केन्द्रको सीमित पहुँचका कारण असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यस्तो अवस्थाले पनि उपभोक्ताको विश्वास घटाएको छ ।

सामान्य समस्या समाधानका लागि कम्पनीले मोबाइल पुनः सुरु गर्ने, भण्डारण खाली गर्ने वा प्रणाली पुनःस्थापना गर्ने सुझाव दिने गरेको छ । तर यस्ता सामान्य उपायहरूले दीर्घकालीन समाधान नदिँदा उपभोक्ताहरू अन्य ब्रान्डतर्फ आकर्षित भएका छन् । चार्जिङ पोर्ट बिग्रनु, पर्दा फुट्नु, वा प्रणाली त्रुटि आउनुजस्ता समस्याले ब्रान्ड छविमाथि नकारात्मक प्रभाव पारेको छ ।

बजारमा विश्वसनीयता गुमाउँदै गएको लाभा र बेन्कोका मोबाइल अब प्रतिस्पर्धी ब्रान्डहरूसँग टक्कर लिन असमर्थ देखिँदैछन् । प्राविधिक कमजोरी, कमजोर सेवा सञ्जाल र उपभोक्ता असन्तुष्टिका कारण कम्पनीको बजार अंश खुम्चिँदै गएको छ ।

कम्पनीमा शोभाकर न्यौपानेको ८३ प्रतिशत र भाद्र पौडेलको १७ प्रतिशत स्वामित्व रहेको रहेको छ । रेटिङ एजेन्सि इक्रा नेपालबाट कम्पनीले अल्पकालीन कर्जाका लागि ५८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*