हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय बढ्यो, अन्य वित्तीय सूचक कस्तो?

३० कार्तिक २०८२, आईतवार ०८:४०

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आजै सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार चालू आवको तीन महीनामा कम्पनीको व्यवसाय र आम्दानीमा वृद्धि भएको छ।

गत आवको असोज मसान्तसम्म कम्पनीले ५६ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म १०.५२ प्रतिशतको वृद्धिका साथ ६२ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ७२ करोड ४९ लाख रुपैयाँबाट १०.९४ प्रतिशतले बढेर ८० करोड ४२ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ६३ करोड ३ लाख रुपैयाँबाट ४५ प्रतिशतले बढेर ९१ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

गत आवको तीन महीनामा कम्पनीले आफ्ना अभिकर्ताहरूलाई ९५ लाख रुपैयाँ कमिशन दिएकोमा त्यसको तुलनामा चालू आवको तीन महीनामा ७५ प्रतिशतले बढाएर १ करोड ६६ लाख रुपैयाँ कमिशन बापत अभिकर्तालाई दिएको छ।

त्यसैगरी गत आवको असोज मसान्तसम्म कम्पनीले २४ करोड ३८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेकोमा चालू आवको तीन महीनामा जेनजी आन्दोलन लगायतका कारण दाबी भुक्तानीमा ३५ प्रतिशत वृद्धि भई ३२ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ।

चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भ कोषमा १ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा २२ करोड ४२ लाख रुपैयाँ सञ्चिति रहेको छ।

गत आवको तीन महीनामा कम्पनीको बीमाकोष ४ अर्ब ३३ करोड ३४ लाख रुपैयाँको रहेकोमा त्यसको तुलनामा चालू आवको तीन महीनामा ३२.५१ प्रतिशतको वृद्धि सहित ५ अर्ब ७४ करोड २२ लाख रुपैयाँको बीमाकोष कायम भएको छ। प्रतिशेयर नेटवर्थ २०५.९६ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १७.४९ रुपैयाँ ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*