जीवन बीमा कम्पनीहरुको खुद नाफामा झिनो बृद्धि, रिलायबल नेपाल सबैभन्दा अगाडि, बृद्धिदरमा सन नेपाल लाइफ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा २.५१ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा एक अर्ब ९७ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले एक अर्ब ९२ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई सक्रिय बनाउँदै व्यवस्थानमा सुधार दिदाँ वित्तीय प्रगती हासिल गरेका हुन् ।
समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव २९.६५ प्रतिशत बढी रहेको छ । साथै, दोस्रो नम्बरमा रहेको सन नेपाल लाइफको मुनाफा ४४.०२ प्रतिशतले बृद्धि भई १६ करोड ६१ लाख रुपैयाँबाट २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । मुनाफाको आधारमा तेस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ४.९४ प्रतिशतले बढेर २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा,
त्यस्तै, चालु आवको असोज मसान्तसम्ममा आइएमई लाइफले १५ करोड ८३ लाख रुपैयाँ, एशियन लाइफले १५ करोड २५ लाख रुपैया, सानिमा रिलायन्सले १४ करोड ९६ लाख रुपैयाँ, नेशनल लाइफले १४ करोड ८ लाख रुपैयाँ, सिटिजन लाइफले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा सूर्यज्योति लाइफले १२ करोड ८० लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले १२ करोड ७७ लाख रुपैयाँ, एलआइसी नेपालले १० करोड ८३ लाख रुपैयाँ, मेट लाइफले नौ करोड ७१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको १२ लाख १२ हजार रुपैयाँ खुद नाफा रहेको छ ।
बृद्धिदरको आधारमा
गत आर्थिक वर्षको तुलनामा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले मुनाफा ४४.०२ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।
त्यस्तै, दोस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । कम्पनीको खुद नाफा ३७.४७ प्रतिशतले बृद्धि भएको छ भने तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफको मुनाफा २९.६५ प्रतिशतले बृद्धि भएको छ ।













