तीन महीनामै जीवन बीमा अभिकर्ताले पाए ३ अर्ब ५९ करोड कमिशन, कुन कम्पनीबाट कति?

१ मंसिर २०८२, सोमबार १२:३२

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनामै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरूले ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन्। गत आवको तीन महीनाको अवधिमा जीवन बीमा अभिकर्ताहरूले ३ अर्ब २४ करोड ९६ लाख रुपैयाँ कमिशन प्राप्त गरेका थिए त्यसको तुलनामा चालू आवमा कमिशन बापतको रकम १०.५२ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीहरूले आफ्ना अभिकर्ताले गरेको व्यवसायको आधारमा सीमित प्रतिशत रकम कमिशन बापत अभिकर्ताहरूलाई वितरण गर्ने गरेका छन्। सामान्यतया अभिकर्ताहरूको व्यवसाय वृद्धि भएसँगै कमिशन बापतको रकम पनि बढ्ने गर्छ। बीमा पोलिसी बिक्री गरे बापत पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिशन वितरण गर्ने गरिन्छ।

कुन कम्पनीले कति दिए?
नेपाल लाइफले आफ्ना अभिकर्ताहरूलाई सबैभन्दा धेरै ९६ करोड ४ लाख रुपैयाँ कमिशन दिएको तथ्याङ्कले देखाएको छ। दोस्रोमा नेशनल लाइफले ४७ करोड ७१ लाख रुपैयाँ, तेस्रोमा हिमालयन लाइफले ३५ करोड २२ लाख रुपैयाँ, चौथोमा एलआईसी नेपालले २४ करोड ५८ लाख रुपैयाँ र पाँचौंमा सूर्यज्योति लाइफले २१ करोड ८४ लाख रुपैयाँ कमिशन दिएको छ।

त्यसैगरी क्रमशः एशियन लाइफले १९ करोड २ लाख रुपैयाँ, सानिमा रिलयान्स लाइफले १७ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ करोड ७१ लाख रुपैयाँ, मेट लाइफले १३ करोड ६९ लाख रुपैयाँ, आईएमई लाइफले १३ करोड १४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १२ करोड ७० लाख रुपैयाँ, सन नेपाल लाइफले ९ करोड १३ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड ९२ लाख रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ।

वृद्धिदरको आधारमा
जीवन बीमा कम्पनीहरूले गत आवको असोज मसान्तसम्म दिएको अभिकर्ता कमिशनको तुलनामा चालू आवको असोज मसान्तसम्म दिएको अभिकर्ता कमिशनलाई दाँजेर हेर्ने हो भने सिटिजन लाइफले २१.३४ प्रतिशतले कमिशन बढाएको छ।

दोस्रोमा आइएमई लाइफले २१.३३ प्रतिशत, तेस्रोमा एलआईसी नेपालले २०.३६ प्रतिशत, चौथोमा मेट लाइफले १४.६४ प्रतिशत र पाँचौंमा सानिमा रिलायन्स लाइफले १४.१२ प्रतिशतले अभिकर्तालाई दिइने कमिशन बापतको रकम वृद्धि गरेका छन्।

त्यसैगरी नेशनल लाइफले ११.९८ प्रतिशत, प्रभु महालक्ष्मीले ११.५१ प्रतिशत, एशियन लाइफले १०.६३ प्रतिशत, नेपाल लाइफले १०.२४ प्रतिशत, रिलायबल नेपालले ९.२७ प्रतिशत, हिमालयन लाइफले २.६३ प्रतिशत, सन नेपाल लाइफले १.५४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीले १.१६ प्रतिशतले बढाएको छ भने सूर्यज्योति लाइफले ३.७२ प्रतिशतले कमिशन घटाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*