मृत्युपछि फाइनान्सको ‘लघु उद्यमी कर्जा’ बाट दिनु पर्ने रकममा मुक्तिनाथ विकास बैंकको बार्गेनिङ

दिपक विष्ट
५ मंसिर २०८२, शुक्रबार १४:५९

काठमाडौँ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ भन्ने स्वगन बोकेको मुक्तिनाथ विकास बैंकले ऋणीबाट अवैध रूपमा असुलेको रकममा बार्गेनिङ गरेको पाइएको छ । बैंकले ऋणीबाट अवैध रूपमा असुलेको रकमलाई फरक कर्जासँग जोडेर बार्गेनिङ गर्दै दबाउन खोजेको खुलेको हो ।

नवलपरासीको गैंडाकोट–५ निवासी ख्याम नारायण पराजुलीकी श्रीमतीले बैंकअन्तर्गतको नारायणघाट शाखाबाटै सेवा सञ्चालन गरीरहेको मुक्तिनाथ माइक्रो फाइनान्सबाट ७ लाख रुपैयाँ लघु उद्यमी कर्जा लिएकी थिइन् । उनी मासिक रूपमा ऋण भुक्तानी गर्दै आएकी थिइन् र करीब २ लाख रुपैयाँ भुक्तानी गरेपछि उनको निधन भयो । लघु उद्यमी कर्जा अन्तर्गत सदस्यको निधन भएमा बीमा, ग्राहक संरक्षण कोष वा राहत कोषबाट कर्जा मिनाहा हुने व्यवस्था छ। साथै परिवारले समेत केही राहत रकम पाउने व्यवस्था रहेको छ तर बैंकले उक्त प्रक्रियालाई नजरअन्दाज गर्दै अगाडि लिएका अन्य ऋणसँग जोडेर बार्गेनिङ गरेको पाइएको छ।

ख्याम नारायण पराजुलीले २०७० सालमा घर निर्माणका लागि १९ लाख ५० हजार रुपैयाँ र २०७४ सालमा व्यवसाय विस्तारका लागि थप ४० लाख रुपैयाँ कर्जा लिएका थिए । पछि उनले २०७९ साल पुस मसान्तमा आफ्नो सम्पत्ति बेचेर सम्पूर्ण ऋण चुक्ता गरे तर बैंकले दिनुपर्ने ऋणमा १२ लाख रुपैयाँ बढी रकम उनको व्यक्तिगत खाताबाट तान्यो ।

पराजुलीले भने, ‘स्टेटमेन्टमा मैले नलिएको कर्जा देखाएर पैसा काटेको रहेछ । यस्तो ठगी देखेपछि मैले बैंकसँग विरोध गरें तर बैंकले न प्रमाण देखायो न रकम फिर्ता ग-यो । आजसम्म फिर्ता गरेको छैन ।’ उनले बारम्बार बैंकसँग कर्जा लिएको प्रमाण, हस्ताक्षर, छाप वा आधिकारिक कागजात देखाउन आग्रह गरे पनि बैंकले अहिलेसम्म कुनै प्रमाण उपलब्ध गराएको छैन सो गुनासो लिएर पराजुलीले राष्ट्र बैंकमा उजुरी समेत दिएका छन् ।

बैंकले अहिले सोही मुद्दा श्रीमतीको कर्जासँग जोडेर अवैध रूपले बार्गेनिङ गरिरहेको हो । बैंकको नारायणघाट शाखा प्रमुख श्याम तिमल्सिना र क्षेत्रीय प्रतिनिधि नम्रता श्रेष्ठले ऋणीसँग अगाडिको कर्जाको कुरा नउठाएमा मृतक पत्नीको कर्जा मिनाहा र राहत पाउने व्यवस्था मिलाउन सकिने बताएका थिए। पराजुलीले भने, ‘मैले फाइनान्सको प्रक्रिया किन अघि बढेको छैन भनेर पटक–पटक प्रश्न गरें । उनीहरूले १२ लाख बढी तानेको विषय नउठाएमा मेरी श्रीमतीको कर्जा मिल्ने भन्ने मनसाय व्यक्त गरे । उनीहरूले नै यसमा तपाईं कन्भिन्स हुनु पर्यो भनिरहेका थिए तर अगाडिको र अहिले विषय फरक रहेको भन्दै मैले अस्वीकार गरें ।’

बैंकका प्रतिनिधिहरूले कन्भिन्स नभएमा कर्जा नतिरेको भन्दै कालोसूचीमा राख्ने धम्की समेत दिंदै आएको छ । पराजुलीको भनाई अनुसार बैंकले मृतक श्रीमतीको कर्जा मिनाहा नगरी अघि लिएको विवादको कारण रिस राखेर रोकिरहेको छ । ‘मैले सबै कागजात बुझाएँ मृत्यु प्रमाणपत्रदेखि सदस्यता विवरण सबै उपलब्ध गराएँ तर बैंक कर्जा मिनाहा गर्न तयार छैन।’ उनले भने ।

उक्त कर्जा मिनाहा र राहतका लागि निवेदन दिंदा समेत लामो समयसम्म बैंकले अल्झाएर राखेको उनको भनाइ रहेको छ । ‘बैंकका प्रतिनिधिहरूले हुन्छ प्रक्रियामा छ भन्छन् तर लामो समयसम्म अल्झाएर राखेको छ । अगाडीको मुद्दामा मैले केन्द्रीय बैंकका उजुरी दिएपछि त्यही कुरा योसँग जोडर हामीलाई दुःख दिइरहेको छ ।’ पराजुलीले भने ।

यस विषयमा नारायणगढ शाखासँग सम्पर्क गर्दा बोल्न नै नमिल्ने प्रतिक्रिया दिंदै आइरहेको छ । केन्द्रीय कार्यालयका सूचना अधिकारी तिल बहादुर गुरुङसँग पनि यस विषयमा स्पष्ट जवाफ छैन । उनले शुरुमा कर्जा मिनाहाका लागि निवेदन नै नआएको तर्क राखेपनि पछि भने उक्त सुविधा सो पोलिसीमा नै नभएको बताए । ‘कर्जा मिनाहाका लागि निवेदन नै आएको छैन । नियम अनुसार प्रक्रियामा जान्छ होला नि ।’ गुरुङले भने ।

बीमापोष्टले २०८२ वैशाखमा नै निवेदन बैंकमा आइसकेको भनेपछि उनले गैरजिम्मेवार उत्तर दिए । ‘ऋणीको नै दोष हो। उनकी श्रीमतीले लिएको कर्जा पोलिसीमा श्रीमतीको निधनपछि मिनाहा र थप राहत पाउने व्यवस्था नै छैन। त्यसैले रकम पाइँदैन ।’ उनले भने ।

बैंकले बार्गेनिङ नगरेको गुरुङको तर्क छ । ‘बिना शिर्षक बैंकले पैसा कसरी काट्न सक्छ ? कुनै बार्गेनिङ गरेको छैन । बैंक नियममा नै चलेको छ । उनको कुरामा गम्भीरता र सत्यता छैन । जे मन लाग्यो त्यही बोल्ने गर्छन् ।’

तर पीडित पराजुलीले आफुले कर्जा लिएको प्रमाण बैंकले दिन नसकेको हुँदा सो रकम ठगी गरेको स्पष्ट हुने बताउँछन् । श्रीमतीले लिएको कर्जामा उक्त सुविधा रहेको समेत उनले दाबी गर्दै आइरहेका छन् । उनले भने, ‘श्रीमतीले लिएको कर्जामा उनको निधनपछि विभिन्न सेवा सुविधा सम्बन्धी पोलिसी रहेको छ। जुन पोलिसी बैंकले मलाई समेत देखाएको थियो। म त्यसमा हस्ताक्षर पनि गरेको थिएँ। अहिले यस्तो जवाफ दिनु बेइमानी हो।’

वाणिज्य बैंक बन्न गइरहेको मुक्तिनाथ विकास बैंकले यो ठगी धन्दाले आम ग्राहकलाई सोच्न बाध्य बनाएको छ ।

सम्बन्धीत समाचार:

मुक्तिनाथ विकास बैंक ऋणी ठग्दै, होस् गर्नुस् कतै तपाई पनि ठगिनु भएको त छैन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*