भारतीय बजारमा जम्दै नेपाली सिमेन्टको ब्रान्ड, चार महिनामा झण्डै १ अर्बको निर्यात

११ मंसिर २०८२, बिहीबार १३:५३

काठमाडौँ । चार महिनामा झण्डै १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८२ को कात्तिकसम्ममा ९८ करोड ७ लाख रुपैयाँ बराबरको ५ लाख ६५ हजार ८५४ टन सिमेन्ट निर्यात गरेको हो ।

उक्त सिमेन्ट निर्यात गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिमाको तुलनामा ४७.२९ प्रतिशतले बढी हो । गत वर्षको चार महिनामा ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ६४ हजार ७०५ टन निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको चार महिनामा २० करोड ७४ लाख रुपैयाँको १ लाख २१ हजार ३८८ टन क्लिङ्कर र ७७ करोड ३३ लाख रुपैयाँको ४ लाख ४४ हजार ४६६ टन पोर्टल्याण्ड सिमेन्ट निर्यात भएको छ । नेपालले लामो समयदेखि सिमेन्ट भारत तिर निर्यात भइरहेको छ । सिमेन्ट उत्पादनको संम्भावना नेपालसँग धेरै भएपनि अझै तेस्रो मुलुकसम्म भने पुग्न सकेको छैन ।

भारतमा नेपाली सिमेन्टको माग उच्च भए पनि गत आर्थिक वर्षमा ‘बीआईएस’ प्रमाणपत्रको नवीकरण नहुँदा निर्यातमा अवरोध आएको थियो । तर चालु आवसम्ममा अधिकांश कम्पनीहरूले गुणस्तर सुनिश्चित गर्दै प्रमाणपत्र नविकरण गरिसकेकाले निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ ।

अहिले घोराही, बालाजी, तानसेन, अर्घाखाँची र सिजी सिमेन्ट प्रमुख कम्पनीहरू हुन्, जसका उत्पादनहरू भारततर्फ निर्यात भइरहेका छन् । नेपाली सिमेन्टको माग बढाउनका लागि व्यवसायीहरूले विविध प्रचार–प्रसार गतिविधि पनि सञ्चालन गर्दै आएका छन् । विशेषतः अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्टले भित्ते विज्ञापनमार्फत आफ्नो ब्रान्डको उपस्थितिलाई मजबुत बनाउन खोजिरहेका छन् । नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक प्रमुख कच्चा पदार्थ, जस्तै चुनढुङ्गा, प्रशस्त मात्रामा उपलब्ध छ ।

पछिल्लो समय विद्युत बक्यौताको बिचको विवाद समेत सहमतिमा आइसकेको छ । बेला बेला विद्युतको वक्यौतामा आइपरेको समस्यालाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुका लाइन काट्ने काम गरी रहेको थियो । तर, पछिल्लो समय सरकार र ब्यवसायीबीच मध्यमार्गी सहमति भएको छ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई दिनुभएको २८ किस्तामध्ये एक किस्ता बराबरको रकमलाई ‘किस्ता’ नभई ‘विवादित धरौटी’ को रूपमा बुझाउँदा कटौती गरिएको विद्युत् लाइन तुरुन्तै जडान गरिने सहमति गरेको छ । साथै, उद्योगीहरूले सो रकम बुझाउँदै गर्दा नै आफ्नो असहमति उल्लेख गरी प्रशासनिक पुनरावलोकन तथा अन्य कानुनी उपचार खोज्न सक्ने व्यवस्था मिलाइने निर्णय भएको छ ।

सोहि कारणले अब सिमेन्ट उद्योगले अझै राम्रो बजार पाउने देखिन्छ । सिमेन्ट निर्यात तेस्रो मुलुकसम्म पुगेको खण्डमा अझै सिमेन्ट निर्यातले ठुलो फड्को मार्ने देखिएको हो । व्यापार घाटाको चपेटामा परेको नेपाललाई सिमेन्ट निर्यातले केहि हदमा राहत मिलि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*