जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उछाल, नेपाल लाइफ र आइएमई लाइफ सर्वाधिक अगाडि (तथ्याङ्कसहित)

काठमाडौं । देशको अर्थतन्त्र जर्जर अवस्थाबाट गुज्रिरहँदा समेत जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा भने उल्लेख्य बृद्धि गर्न सफल भएको देखिएको छ । चालु आवको पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ३० प्रतिशतले लोभलाग्दो बृद्धिदर हासिल गर्न सफल भएका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम बीमा शुल्क आम्दानीमा २९.९१ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । गत आवको कार्तिक महिनासम्ममा नेपालका जीवन बीमा कम्पनीहरुले कूल नौ अर्ब ७९ करोड ४६ लाख ५७ हजार रुपैयाँको प्रथम बीमा शुल्क आम्दानी गरेकोमा यस वर्षको कार्तिक महिनासम्ममा कूल १२ अर्ब ७२ करोड ३९ लाख ४० हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।
जीवन बीमा कम्पनीहरुका लागि प्रथम बीमा शुल्क आम्दानी, मुनाफा र व्यवसाय फराकिलो बनाउने हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।
यस अवधीमा नेपाल लाइफले सबैभन्दा धेरै तीन अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, नेशनल लाइफले एक अर्ब ८८ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
यस पटक तेस्रोमा एलआईसी नेपालले ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, चौथो स्थानमा रहेर सुर्यज्योति लाइफले ८३ करोड नौ लाख रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, पाँचौंमा सिटिजन लाइफले ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा हिमालयन लाइफले ६८ करोड, एशियन लाइफले ६२ करोड, आएमई लाइफ ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।
त्यस्तै, सानिमा रिलायन्स लाइफले ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्दा रियायबल नेपालले ५३ करोड, प्रभु महालक्ष्मी लाइफले ४२ करोड रुपैयाँ प्रथम बीमा शु्ल्क आम्दानी गर्न सफल भएका छन् ।
सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीले चार महिनाको अवधीमा ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।
प्रकाशित तथ्याङ्क अनुसार नेपाल लाइफ सबैभन्दा धेरै व्यवसाय गरेर सबैभन्दा अगाडि रहेको छ भने आईएमई लाइफ सबैभन्दा धेरै बृद्धिदर हासिल गर्ने कम्पनीको रुपमा सबैभन्दा अगाडि रहेको छ । नेपाल लाइफले ४४ प्रतिशतको ग्रोथ हासिल गर्दै सर्वाधिक तीन अर्ब ६७ करोड बीमा शुल्क संकलन गरेको छ । त्यस्तै आईएमई लाइफले ८४ प्रतिशतको लोभलाग्दो ग्रोथ गर्न सफल भएको छ ।













