जीवन बीमा दाबी भुक्तानी ७% वृद्धि, कुन कम्पनीको कति? (तथ्यांकसहित)

१७ मंसिर २०८२, बुधबार १३:३४

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सार्वजनिक तथ्यांक अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा क्षेत्रको कुल दाबी भुक्तानी ७.३५ प्रतिशतले बढेको छ।

गत आवको असोज मसान्तसम्म बीमकहरूले १६ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म ७.३५ प्रतिशत वृद्धि सहित १७ अर्ब ७३ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ।

कुन कम्पनीको कति?
चालू आवको तीन महीनामा नेपाल लाइफले सबैभन्दा धेरै ४ अर्ब १५ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। दोस्रोमा नेशनल लाइफले २ अर्ब ८९ करोड २९ लाख रुपैयाँ र तेस्रोमा एलआईसी नेपालले २ अर्ब ८४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेको देखिन्छ।

त्यसैगरी हिमालयन लाइफले १ अर्ब ७६ करोड ७५ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब १३ करोड ४६ लाख रुपैयाँ, मेट लाइफले ७७ करोड ९२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७० करोड ५६ लाख रुपैयाँ र सिटिजन लाइफले ४८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

त्यस्तै सानिमा रिलायन्स लाइफले ३९ करोड ९७ लाख रुपैयाँ, सन नेपाल लाइफले ३५ करोड ९० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३२ करोड ७२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २९ करोड १४ लाख रुपैयाँ र आइएमई लाइफले २६ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको तथ्यांकले देखाएको छ।

वृद्धिदरको आधारमा
गत आवको असोजसम्मको दाबी भुक्तानीसँग चालू आवको सोही अवधिको दाबी भुक्तानी तुलना गर्ने हो भने नेशनल लाइफको दाबी भुक्तानी २६.१३ प्रतिशतले बढेको देखिन्छ जुन सबैभन्दा उच्च वृद्धिदर हो। त्यसपछि हिमालयन लाइफको १४.९३ प्रतिशत, नेपाल लाइफको १३.४५ प्रतिशत, मेट लाइफको ९.४६ प्रतिशत, एलआईसी नेपालको ६.८० प्रतिशत, सिटिजन लाइफको ६.६४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ४.७५ प्रतिशतले दाबी भुक्तानी वृद्धि भएको छ।

यता ७ वटा कम्पनीहरूको दाबी भुक्तानी भने घटेको देखिएको छ। जसमध्ये सूर्यज्योति लाइफको ०.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको २.१५ प्रतिशत, सन नेपाल लाइफको ५.५८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ९.९१ प्रतिशत, सानिमा रिलायन्स लाइफको १४.०७ प्रतिशत, आइएमई लाइफको १७.६९ प्रतिशत र एशियन लाइफको १८.६८ प्रतिशतले दाबी भुक्तानी घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*