जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क आर्जन ६२ प्रतिशत बढ्यो, कुन कम्पनीको कति?

१९ मंसिर २०८२, शुक्रबार १२:३०

काठमाडौं । गत आर्थिक वर्ष (आव) ०८१/०८२ को प्रथम त्रैमासको तुलनामा चालू आव ०८२/८३ मा जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क (सिंगल प्रिमियम) आर्जन ६२.४० प्रतिशतले वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीहरूले २ अर्ब ३१ करोड ५ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेकोमा चालू आवको प्रथम त्रैमासमा ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेका छन्।

सिंगल प्रिमियम भनेको बीमितले बीमा गरेबापत कम्पनीलाई समयसमयमा तिर्नुपर्ने प्रिमियम रकम बीमा गर्दाखेरी एकैपटक तिरिएको रकम हो। यसमा मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा किस्ताबन्दीमा नभई बीमा गर्दाखेरि एकैपटक ठूलो रकम बुझाइन्छ। जीवन बीमा कम्पनीहरूले यस्तो पोलिसी पनि ल्याएका छन् जहाँ प्रिमियम बापतको रकम एकैपटक तिरेर बीमा गरिन्छ। यसमा पटकपटक प्रिमियम तिर्नुपर्ने वा तिर्न बिर्सिने झन्झट वा प्रिमियम तिर्न नसकेर बीमा सरेण्डर गर्नुपर्ने अवस्था आउदैन र एकमुष्ट प्रिमियम तिर्दा छुट सुविधा पनि दिइएको हुन्छ।

कुन कम्पनीको कति?
चालू आवको तीन महीनामा यस्तो खाले बीमा पोलिसी बेचेर नेपाल लाइफ एक्लैले १ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ भने दोस्रोमा नेशनल लाइफले ६३ करोड ९५ लाख रुपैयाँ, तेस्रोमा सिटिजन लाइफले २५ करोड ३७ लाख रुपैयाँ, चौथोमा सूर्यज्योति लाइफले २४ करोड ५० लाख रुपैयाँ र पाँचौमा एलआईसी नेपालले १८ करोड ६६ लाख रुपैयाँ संकलन गरेका छन्।

त्यसपछि एशियन लाइफले १६ करोड ८९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १६ करोड ८० लाख रुपैयाँ, सन नेपाल लाइफले १६ करोड ५४ लाख रुपैयाँ, मेटलाइफले १२ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्सले ११ करोड ८५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले १० करोड ८३ लाख रुपैयाँ, हिमालयन लाइफले ४ करोड ९६ लाख रुपैयाँ र आइएमई लाइफले ४ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ।

वृद्धिदरको आधारमा
चालू आवको प्रथम त्रैमासमा एकल बीमा पोलिसी काटेर संकलन गरेको रकमसँग गत आवको सोही अवधिमा सम्बन्धित कम्पनीले एकल बीमा पोलिसी काटेर संकलन गरेको रकमसँग दाँजेर हेर्ने हो भने आइएमई लाइफको सर्वाधिक २५१.२४ प्रतिशतले बढेको देखिन्छ।

त्यसपछि एलआईसी नेपालको २४५.२३ प्रतिशत, रिलायबल नेपालको २०२.५७ प्रतिशत, सिटिजन लाइफले १४६.२२ प्रतिशत, एशियन लाइफको ११६.५५ प्रतिशत, सानिमा रिलायन्सको १०८.७७ प्रतिशत, नेपाल लाइफको ९३.७६ प्रतिशतले बढेको छ।

त्यसैगरी नेशनल लाइफको ६०.७७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५५.३६ प्रतिशत, सूर्यज्योति लाइफको ३७.७४ प्रतिशत र मेट लाइफको ९.५८ प्रतिशतले बढेको छ भने हिमालयन लाइफको १९.१३ प्रतिशत र सन नेपाल लाइफको ५४.८० प्रतिशतले सिंगल प्रिमियम संकलन घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*