सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधा सम्बन्धमा र कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।













