जन्मदिनको उत्सवलाई उत्तरदायित्वमा रूपान्तरण: चेम्जोङ दम्पतीद्वारा २० लाखको जीवन बीमा

काठमाडौँ । झापाको बुद्धशान्ती गाउँपालिका–३ धाईजन चोक निवासी चन्द्र कुमार चेम्जोङ र उनकी जीवनसंगिनी टीका माया लिम्बुले जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी भविष्यप्रतिको उत्तरदायित्वको प्रतीक बनाएका छन्। अधिकांशले जन्मदिनमा भोजभतेर, पार्टी वा महँगो उपहारमा खर्च गर्ने चलनबीच चेम्जोङ दम्पतीले भने श्रीमानको ३९औँ जन्मदिनको अवसर पारेर आइएमई लाइफ इन्स्योरेन्समार्फत २० लाख रुपैयाँ बराबरको जीवन बीमा गर्दै अनुकरणीय उदाहरण प्रस्तुत गरेका हुन्।
बिर्तामोड शाखामा आज सम्पन्न विशेष कार्यक्रममा कोशी प्रदेश प्रमुख मिलन दाहाल, कोशी क्षेत्रीय रिजनल मेनेजर महेन्द्र तिम्सिना, कोशी कर्पोरेट सेल्स संयोजक गगन सिटौला, कोशी प्रदेश संयोजक बिनिसा खतिवडा, सिनियर एजेन्सी म्यानेजर हरिसरन लम्साल, एमडीआरटी सिनियर एजेन्सी म्यानेजर नगेन्द्र कुमार श्रेष्ठ, बुद्धि सागर दुङेल लगायत बिर्तामोड शाखाका कर्मचारीहरूको उपस्थितिमा जीवन बिमा पोलिसी औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रम केक सेलेब्रेशनसहित भव्य र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो। उपस्थित सबैले चेम्जोङ दम्पतीको निर्णयको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा बोल्दै टीका माया लिम्बुले भनिन् “हामीले यो जन्मदिन फजुल खर्चमा होइन, बचत र सुरक्षामा रूपान्तरण गरेका छौँ। परिवारको भविष्य सुनिश्चित गर्नु नै साँचो प्रेम र जिम्मेवारी हो भन्ने सन्देश दिन चाह्यौं।”
चेम्जोङ दम्पतीको यो कदमले बीमा केवल आर्थिक सुरक्षा मात्र नभई सामाजिक सचेतना र उत्तरदायित्वको बलियो सन्देश दिएको छ। जन्मदिनजस्ता व्यक्तिगत उत्सवलाई दीर्घकालीन सुरक्षासँग जोडेर समाजमा सकारात्मक सोच र वित्तीय अनुशासनको उदाहरण प्रस्तुत गरेको भन्दै कार्यक्रम सहभागीहरूले यसलाई प्रेरणादायी कदमका रूपमा मूल्यांकन गरेका छन्।













