लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह एवं तत्सम्बन्धी अनुसूचीहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरिने जनाएको छ। तसर्थ नेप्सेमा पुस १७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।













