पाथीभरा केबुलकार काण्डमा पहिचानवादीहरुनै मिलेको आशंका

काठमाडौं । किराँतहरुको मुक्कुमलुङ सभ्यता मास्नेगरी प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबुलकार निर्माण गर्न पुगेका व्यवसायी चन्द्र ढकालसँग पहिचानवादीहरु नै मिलेको आशंका जन्मिएको छ ।
ढकालको पाथीभरा केबुलकार कम्पनीले फुङलिङको काफ्लेटारमा जग हाल्न खोज्दा पहिचानवादी तथा मुक्कुमलुङ सभ्यताप्रेमीको नामा संघर्ष समिति बनाएर विरोध भएको थियो । जसमा निर्माण कम्पनीले विरोधमा उत्रिनेहरुमाथि स्थानीय प्रहरी, प्रशासन लगाएर गोली हान्न लगाएको थियो । त्यसबेला छातीमा बन्दुकको गोली थाप्न तयार भएकाहरु नै एकाएक हराउनुले मिलेमतोको आशंका जन्माएको हो । पाथीभरा केबुलकारका नाममा जंगल मासेको, मुम्कुमलुङ सभ्यतामाथि ठाडो प्रहार गरिएको मुद्दालाई एकाएक छोडेर संघर्ष समितिका अगुवाहरु नै गायव हुनुले मिलेमतोको आशंका जन्माएको विरोधमा घाइते भएकाहरुको धारणा छ ।
केबुलकारको शिलान्यास गर्ने बेलामा पहिचान र सभ्यता जोगाउन भन्दै संघर्ष समिति बनाएर विरोधमा उत्रिएकाहरु अहिले कोही नयाँ राजनीतिक दलमा लागेका र कोही व्यवसायी ढकालसँग मिलेर केबुलकार निर्माणमा सघाइरहेका देखिएको एक घाइतेले बीमापोष्टलाई बताए ।
विरोधमा उत्रिँदा कतिपयलाई गोली लागेको र कयौँले धारिलो हतियार, ढुंगा र भाटा खाएको आफुहरु विर्सन नसक्ने बताउँदै ती घाइतेले संघर्ष समितिले आन्दोलनका घाइतेहरुमाथि नै घात गरेको गुनासो गरे । दुर्बल भएर बसेका घाइते र स्थानीयहरु केबुलकार निर्माणको काम अहिले निर्वाध भइरहेकोमा अचम्म छन् । जसमा व्यवसायी ढकालले ठूलो आर्थिक चलखेल गरेको शंका उनीहरुको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले आफु आए (भदौ)देखि निर्वाध केबुलकार निर्माण भइरहेको बताएका छन् । विवाद वा झडपको अवस्थामा मात्रै आफुहरुसँग सरोकार रहने भए पनि भदौदेखि यता निर्माण कार्यमा कुनै व्यवधान नआएको प्रमुख जिल्ला अधिकारी सेढाईंले बताए ।
फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन झन् एक वर्षभित्र केबुलकार निर्माणको काम सक्ने जिकिर गरिरहेका छन् । उनले आफु मेयर रहेसम्म केबुलकार निर्माणको काममा कसैले अवरोध गर्न नसक्ने पक्का भएको बताए । उनले भने, ‘पहिचान र सभ्यताको मुद्दा उठाएर संघर्ष समिति बनाएकाहरुको अहिले अत्तो पत्तो छैन । र, अहिले कुनै विवाद वा अवरोध छैन । पहिचानको कुरा गर्नेहरुप्रवासमा बस्ने नेपालीहरुको पैसा उठाएर केही समय चम्किए । अहिले कुनै कुन् पार्टीमा कुनै कुन् समूहमा लागेको भन्ने सुन्छु ।’
क्षणिक रुपमा पहिचानको मुद्दा उचालेकाहरु यहाँका स्थानीयलाई धोका दिएर भागेको मेयर मादेनको भनाइ छ ।













