७ अर्ब २९ करोड ऋणको भारमा हुलास वायर, वर्षदिनमा १ अर्ब १३ करोडको व्यापार घट्यो

काठमाडौँ । हुलास वायर इन्डस्ट्रिज लिमिटेडको वित्तीय अवस्था पछिल्लो एक वर्षमा उल्लेखनीय रूपमा कमजोर बनेको छ । उद्योग तथा निर्माण क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको कम्पनीले आर्थिक वर्ष सन् २०२५ मा ठूलो व्यापारिक धक्का व्यहोरेको देखिन्छ । एक वर्षको अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीले घटेको छ ।
कम्पनीले सन् २०२५ मा कुल ७ अर्ब ३५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३.३५ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ७० लाख रुपैयाँले कम हो । सन् २०२४ मा हुलास वायरले ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । ठूलो आकारको उद्योगका लागि यति ठूलो मात्रामा आम्दानी घट्नुले कम्पनीको व्यापारिक गतिविधि कमजोर बन्दै गएको संकेत गरेको छ । बजारमा इस्पात तथा तारजन्य उत्पादनको माग सुस्त हुनु, प्रतिस्पर्धा तीव्र हुनु र लागत चाप बढ्नुले कम्पनीको व्यापारमा प्रत्यक्ष असर परेको देखिन्छ ।
हुलास वायर इन्डस्ट्रिजको इतिहास लामो भए पनि पछिल्ला वर्षहरूमा यसको वित्तीय अवस्था चुनौतीपूर्ण बन्दै गएको छ । सन् १९७९ मा स्वर्गीय महेन्द्रकुमार गोल्छाद्वारा मोरङको बुढीगंगा गाउँपालिकामा स्थापना गरिएको यो उद्योग सन् २००६ जुलाई १४ मा हुलास वायर इन्डस्ट्रिज लिमिटेडका रूपमा रूपान्तरण भएको थियो । नेपालकै अग्रणी औद्योगिक संस्थामध्ये एकका रूपमा परिचित यस कम्पनीले दशकौँसम्म इस्पात तथा तारजन्य उत्पादन बजारमा आफ्नो उपस्थिति कायम राखेको भए पनि पछिल्लो समय व्यापारिक गति सुस्त देखिएको छ ।
आईएसओ ९००१ मान्यता प्राप्त हुलास वायर इन्डस्ट्रिजका दुईवटा उत्पादन इकाइ छन् । मोरङ जिल्लाको बुद्धिगंगा गाउँपालिका–३, बाँसबारीमा रहेको पहिलो इकाइबाट जस्ती तार, ग्याबियन बक्स, एचबी तार, रिब्ड तार, काँडेतार, तार कीला लगायतका उत्पादन हुँदै आएका छन् । यसै इकाइमा गैर–फलामजन्य उत्पादनअन्तर्गत पीतल र तामाका पाना समेत उत्पादन हुँदै आएका छन् । यस्तै, सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१३, खानारमा रहेको दोस्रो इकाइबाट टिएमटी, साँघुरा स्ट्रिप क्वाइल, माइल्ड स्टिल बिलेट तथा माइल्ड स्टिल कालो पाइप उत्पादन हुँदै आएको छ । उत्पादन क्षमता ठूलो भए पनि त्यसअनुसार बजार माग नबढ्नु कम्पनीका लागि चुनौती बन्दै गएको देखिन्छ ।
व्यापार घट्नुका साथै कम्पनीको पूँजी संरचना पनि गम्भीर दबाबमा रहेको छ । उच्च ऋणको भार र आन्तरिक नगद आम्दानी कमजोर रहनुले कम्पनीको वित्तीय जोखिम बढाएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कम्पनीको कुल गियरिङ अनुपात २.५७ गुणा पुगेको थियो । प्रवद्र्धकहरूले ५ करोड १० लाख रुपैयाँ बराबरको थप पूँजी लगानी गरेपछि आर्थिक वर्ष २०८१/८२ मा यो अनुपात केही घटेर २.०७ गुणामा सीमित भए पनि संरचनागत रूपमा पूँजी संरचना अझै पनि कमजोर नै देखिन्छ ।
ऋण तिर्ने क्षमताका सूचकहरू झनै चिन्ताजनक छन् । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको ऋण सेवा अनुपात घटेर ०.७६ गुणामा सीमित भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा यो अनुपात केही सुधार हुँदै ०.९४ गुणामा पुगे पनि अझै सुरक्षित स्तरमा पुग्न सकेको छैन । यस्तै, ब्याज तिर्ने क्षमता पनि कमजोर नै देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा १.२१ गुणा रहेको ब्याज तिर्ने क्षमता आर्थिक वर्ष २०८१.८२ मा १ दशमलव ६२ गुणामा पुगेको भए पनि उच्च वित्तीय खर्चको भारका कारण यो स्तर सन्तोषजनक मान्न सकिँदैन ।
कम्पनीको तरलता अवस्था पनि चापयुक्त बनेको छ । हुलास वायर इन्डस्ट्रिज गोल्छा परिवारद्वारा प्रवद्र्धित कम्पनी हो । कम्पनीको सेयर संरचनाअनुसार पारस एम. गोल्छाको करिब ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको करिब १७ प्रतिशत स्वामित्व रहेको छ । हाल कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक युक्ति गोल्छाले सम्हाल्दै आएकी छन् । उद्योग क्षेत्रमा करिब एक दशकको अनुभव भए पनि चुनौतीपूर्ण बजार अवस्था, वित्तीय दबाब र उच्च ऋणका बीच कम्पनीको सञ्चालन सहज देखिँदैन ।
उद्योग सञ्चालनका लागि हुलास वायरले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ७ अर्ब २९ करोड २७ लाख रुपैयाँ कर्जा लिएको छ । यसमध्ये २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ दीर्घकालीन ऋण र ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।













