दुई पुनर्बीमा र तीन जीवन बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति

काठमाडौं । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी र तीन जीवन बीमा कम्पनीहरुले विदेशमा शाखा खोल्ने तयारी सुरु गरेका छन् ।
सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनीले विदेशमा शाखा खोल्न नियामक नेपाल बीमा प्राधिकरणबाट अनुमति प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विदेशमा सम्पर्क कार्यालय खोल्ने पूर्व अनुमति प्राप्त गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले पाँचवटै कम्पनीले विदेशमा शाखा खोल्न स्वीकृति लिएको पुष्टि गरे।
प्राधिकरणको बीमा नियामावली अन्तर्गत बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ बमोजिम विदेशमा शाखा, सम्र्पक वा प्रतिनिधि कार्यालय खोल्न सक्ने व्यवस्था बमोजिम पाँच कम्पनीलाई विदेशमा शाखा कार्यालय खोल्न स्वीकृती पाइसकेका छन्’, उनले बीमापोष्टसँग भने।
सरकारले कानुनी रूपमा विदेशमा शाखा कार्यालय खोल्न दिँदा विदेशी बीमा बजारसाग सामिप्यता बढ्नसक्ने र नेपालमै प्रिमियम रकम फिर्ता ल्याउन सहज पनि हुन्छ ।
प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पुरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने व्यवस्था रहेको छ ।
निर्देशिकाअनुसार प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महिनाभित्र कार्यालय खोली त्यसको जानकारी प्राधिकरणलाई गराउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । हाल प्राप्त पूर्व स्वीकृति मात्रै हो । अब ति कम्पनीहरुले सम्बन्धित देशहरुको नियामकबाट अनुमति लिनुपर्ने हुन्छ । अर्को देशबाट अनुमति लिएपछि मात्रै नेपालबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै विदेशमा औपचारिक रुपमा शाखा खोल्न पाइनेछ ।
बीमा ऐनमा के छ व्यवस्था ?
बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विभिन्न कागजात तथा विवरण पेश गर्नुपर्नेछ ।
बीमकले व्यवसायिक योजना, लाभ–लागत तथा जोखिम विश्लेषण सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ । साथै कार्यालय स्थापनाको लागि आवश्यक अनुमानित लागत, प्राधिकरणले तोकेको न्यूनतम सोल्भेन्सी मार्जिन कायम गरेको, कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको देशबाट लाभांश, मुनाफा, पुँजी नेपालमा भित्र्याउन वा फिर्ता गर्न सकिने नीतिगत व्यवस्था उक्त देशमा रहेको विवरण समेत बुझाउनुपर्नेछ ।
त्यस्तै, कार्यालय खोल्न प्रस्ताव गरिएको देशसँग नेपालको द्विपक्षीय सम्बन्ध रहेको हुनुपर्ने नियमावलीमा रहेको छ । साथै नियमावलीबमोजिम निवेदन उपर जाँचबुझ गरी कार्यालय खोल्न दिने वा नदिने सम्बन्धमा प्राधिकरणले निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।साथै नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि प्राधिकरणले बीमाको पहुँच विस्तार गर्न आवश्यकता अनुसार बीमकलाई शाखा कार्यालय खोल्न निर्देशन दिन सक्ने नियमावलीमा रहेको छ ।
साथै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले स्वदेशमै आफ्ना शाखा कार्यालय खोल्नका लागि नेपाल बीमा प्राधिकरणसमक्ष संचालक समितिको निर्णय, कार्यालय स्थापना गर्ने प्रस्तावित स्थान, वित्तीय रुपले सम्भाव्य रहेको स्थलगत अध्ययन प्रतिवेदन, जनशक्ति र पूर्वाधारको व्यवस्थापन र प्राधिकरणले निर्धारण गरेका अन्य विषयको विवरण बुझाउनुपर्नेछ ।
बीमा एने २०७९ को उपदफा ८ बमोजिम संचालन गरिने शाखा कार्यालयमा बीमकले कम्तीमा अधिकृत तहको कर्मचारीलाई प्रमुखको रुपमा खटाई कार्य बोर्यबोझ हेरी आवश्यकता अनुसार र अन्य अधिकृत तथा कर्मचारीको व्यवस्था गनुपर्ने र सो विवरण कार्यालय संचालनमा आएको जानकारी साथ प्राधिकरणमा पेश गनुपर्ने व्यवस्था रहेको छ ।













